भारत-पाकिस्तानबीच तनाव रोकिएकोमा प्रधानमन्त्रीको प्रतिक्रिया- संयम सराहनीय छ

हिमाल प्रेस २९ वैशाख २०८२ १३:४४ | Monday, May 12, 2025
भारत-पाकिस्तानबीच तनाव रोकिएकोमा प्रधानमन्त्रीको प्रतिक्रिया- संयम सराहनीय छ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारत र पाकिस्तानबीच सम्भावित लडाइँ रोकिएकोमा दुवै पक्षलाई धन्यवाद दिएका छन्। उनले द्वन्द्वको स्थिति रहे पनि युद्धमा नपुगेकोप्रति सन्तोष व्यक्त गरे।

लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शान्ति र अहिंसाका उपदेश आजको विश्वमा अझै सान्दर्भिक रहेको बताए। सोही प्रसंगमा उनले दक्षिण एशियाली छिमेकी मुलुकहरूबीचको ताजा तनावलाई स्मरण गर्दै संयमताका लागि धन्यवाद प्रकट गरे।

‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यो स्थिति लडाइँसम्म जान दिएनन्। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि नै आग्रह गर्‍यौँ-  तनावले विस्तार नपाओस्, लडाइँ नहोस्।’

उनले आफूहरूले भारत र पाकिस्तान दुवै पक्षसँग सम्पर्क गरेर युद्धतर्फ नजान सुझाव दिएको पनि बताए। अहिले पनि केही आरोपप्रत्यारोपको स्थिति रहेको तर कूटनीतिक संयमता कायम रहनु सकारात्मक संकेत भएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले बुद्धको शिक्षालाई दक्षिण एशियाली शान्ति, सहकार्य र सहअस्तित्वको आधारका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २९ वैशाख २०८२ १३:४४ | Monday, May 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast