
काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको बताएका छन्।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले ठूला दलबीचको गठबन्धका कारण नीति एकतिरबाट र कार्यक्रम अर्कोतर्फबाट ल्याउनुपर्ने अप्ठेरो सरकारलाई देखिएको समेत बताए।
उनले सरकारको नीति तथा कार्यक्रममा, नीति मात्रै आएको र आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा कार्यक्रममात्रै आएको टिप्पणी गरे। नीति तथा कार्यक्रम र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको भन्दै पुनले गठबन्धन सरकार लामो समय अघि बढ्ला जस्तो आफूलाई नलागेको उनले बताए। उनले सरकार निरन्तर अघि बढे देश र जनताले दुःख पाउने धारणा राखे।
पुनले नीति तथा कार्यक्रममाथि उठेका विषयमा प्रधानमन्त्री गम्भीर नदेखिएको बताए। उनले अबको बजेट पनि कामचलाउ जस्तो आउने आशंका देखिएको उल्लेख गरे।