‘आतंकवादविरुद्ध नेपालको अडानमा भारत खुसी’

हिमाल प्रेस २७ वैशाख २०८२ १७:१६
32
SHARES
‘आतंकवादविरुद्ध नेपालको अडानमा भारत खुसी’

काठमाडौँ – भारतीय राजदूत नवीन श्रीवास्तवले आतंकवादविरुद्धको अभियानमा नेपालको ऐक्यबद्धताप्रति भारत खुसी रहेको बताएका छन्। जम्मु-कस्मिरस्थित पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछि भारतले चालेको कदममा नेपालले ऐक्यबद्धता जनाएपछि भारतले नेपाल सरकारलाई धन्यवाद दिएको छ। भारतले पाकिस्तानका विभिन्न आतंकवादी केन्द्रहरूमा आक्रमण गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहलगाम घटनालगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीसँग गरेको टेलिफोन वार्ता र ऐक्यबद्धतालाई भारतले सकारात्मक रूपमा लिएको पनि उनले बताए। राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट गरी ऐक्यबद्धताप्रति भारत सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए।

भारतीय राजदूत  श्रीवास्तवले  प्रधानमन्त्री निवास बालुवाटार पुगेर पहलगाम घटनापछि भारत-पाकिस्तानबीच उत्पन्न पछिल्लो तनावबारे जानकारी गराएका थिए।  साथै उनले यसबारे  नेपालको साथ पनि खोजेका थिए।

पछिल्लो समय प्रधानमन्त्रीको तहमा दुईपक्षीय भ्रमण हुन सकेको छैन। यद्यपि मन्त्रीस्तरीय र राजनीतिक दलका नेताहरूको भ्रमण लगातार भइरहेकाले सम्बन्ध पनि सद्भावपूर्ण रहेको भारतीय अधिकारीहरू बताउँछन्।

‘मन्त्री स्तरमा आउजाउ रहेकै छ। समस्या केही भए दुईपक्षीय छलफलमा समाधान पनि भइरहेको छ,’ राजदूत श्रीवास्तावले शुक्रबार राजधानीमा पत्रकारसँगको अन्तरसंवादमा  भने, ‘नेपाल-भारत सम्बन्ध राम्रो छ। सबै कार्यहरू ट्र्याकमै छन्।’

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले घटनास्थलमा सीमित जवाफी कारबाहीमात्र गरेको उल्लेख गर्दै जेट आक्रमण भएको भन्ने प्रचार सत्य नभएको उल्लेख थियो। नेपाल सरकारको यस्तो बुझाइप्रति श्रीवास्तवले खुसी प्रकट गरे। उनले छिमेकको असहजतामा दिएको साथको फरक महत्त्व हुने पनि बताए।

‘नेपालको अडानप्रति भारत स्वाभाविक रूपमा खुसी छ, म स्वयं पनि खुसी छु,’ राजदूत श्रीवास्तवले भने, ‘मैले भारत सरकारका तर्फबाट प्रधानमन्त्रीलाई धन्यवाद दिँदै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी पनि गराएँ। पहलगाममा भएको आक्रमणप्रति भारतको कारबाही आतंकवादविरुद्ध भएको र नागरिक वा सैन्य संरचनालाई लक्षित नभएको पनि जानकारी गराएँ। यहाँ पनि त्यो कुरा स्पष्ट पार्दछु।’

राजदूत श्रीवास्तवले नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई भारतले सकारात्मक रूपमा लिएको पनि बताए। विज्ञप्तिमा सबै प्रकारका आतंकवादी गतिविधिको निन्दा गर्दै भारतको सुरक्षाका पक्षमा समर्थन जनाइएको थियो। सुरक्षा प्रशिक्षण सम्पन्न गरेर नेपाल भ्रमणमा १२ पाकिस्तानी सेना अधिकृतलाई पूर्वनिर्धारित भन्दै नेपाल आउन दिएपछि  भारत झस्किएको थियो। यसको कारण हो- नेपाल र भारतको खुला सीमा। खुला सीमाको उपयोग पाकिस्तानमा संरक्षित आतंककारीले उपयोग गर्ला भन्ने डर भारतलाई  रहँदै आएको छ।

नेपाल विश्वशान्तिका पक्षमा छ। सबै किसिमका आतंकवादी गतिविधिको विरोधमा दृढ अडानमा रहँदै आएको छ। भारतले नेपालमात्र होइन आफ्ना सबै छिमेकीको साथ लिने जनाइसकेको छ। भारतले तत्काल युद्ध गरिनहाले पनि आतंककारीको निर्मूलीकरणमा लाग्ने बताउँदै आएको छ।

नेपालले आफ्नो भूमिमा कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता भारतीय पक्षसँग दहोर्‍याको छ। ‘नेपाल आतंकवादविरुद्ध सधैँ स्पष्ट अडानमा रहँदै आएको छ। शान्ति, सहअस्तित्व र आपसी सम्मान नेपालको परराष्ट्र नीतिका मूल आधार हुन्,’ विज्ञप्तिमा उल्लेख थियो।

‘यो युद्ध होइन, आतंकवादविरुद्ध कारबाही हो’

भारतले अहिलेसम्म पाकिस्तानविरुद्ध औपचारिक रूपमा युद्ध घोषणा गरेको छैन। ‘हामीले आतंकवादविरुद्धको कारबाही गरेका हौँ। पाकिस्तानका सेना वा नागरिकविरुद्ध हामी गएकै छैनौँ, त्यो सोच पनि भारतको छैन,’ राजदूत श्रीवास्तवले भने, ‘हामी आतंकवाद निर्मूल पार्ने अभियानमा छौँ। परिस्थिति कहाँसम्म लैजाने भन्ने बल त पाकिस्तानको कोर्टमा छ।’

राजदूत श्रीवास्तवले आफ्नो काम गरिरहेका व्यक्तिलाई सोधी-सोधी निधारमा गोली हान्ने समूहलाई पाकिस्तानले संरक्षण गरेको बताए। उनले भने, ‘अब आतंककारीलाई यो क्षेत्र नै मिलेर सहकार्य गर्दै निर्मूल पार्नुपर्छ। घटना भइरहेका छन्, जवाफ पनि दिइएको छ तर पनि यो प्रक्रियामा किन पाकिस्तान लाग्दैन भन्ने भारतको जिज्ञासा छ। आतंकवाद सबैका लागि खतरा हो। अनि भारत कहिल्यै पाकिस्तानविरुद्ध छैन त्यहाँ संरक्षित आतंककारी समूहविरुद्ध हो।’

कस्मिरमा भएको विगतका घटना कैयन् छन्, मुम्बई आक्रमण, संसद्‌मा आक्रमण गरेका आतंककारी समूहलाई अब भने निमिट्यान्न गरेर शान्तसँग बस्ने सोच बनाउन आवश्यक रहेको उनले बताए। ‘गत अप्रिल २२ मा भएको घटनामा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ पर्यटक मारिएका थिए। त्यो पनि ‘कुरान’ पढ्न नजानेको आधारमा। यस्तो कट्टरपन्थी सोचले विश्वलाई कता लैजाला?,’ राजदूत श्रीवास्तवको प्रश्न थियो।

भारतले पहलगाम घटनाका आतंककारीलाई संरक्षण गरेको भन्दै पाकिस्तानका केही स्थानमा क्षेप्यास्त्र आक्रमण गरेको बताउँदै आएको छ। यद्यपि भारतले यसलाई लडाइँको संज्ञा दिएको छैन।  एकअर्काबीच आक्रमण र प्रत्याक्रमण सुरु भए पनि भारतले पाकिस्तानको सेना र सर्वसाधारणलाई लक्ष्य नगर्ने भनेको छ।

‘आपूर्तिमा समस्या हुँदैन’

द्वन्द्वको असर नेपाल र नेपालीलाई पनि पर्छ नै। नेपालले भारतको कदममा साथ दिने बताउँदै शान्तिपूर्ण निकासका लागि आग्रह गरिरहेको छ। युद्ध चर्कँदै गएमा यो क्षेत्र लथालिंग हुने अवस्था रहेकाले सबै मिलेर शान्त र उन्नत बनाउनुपर्ने चाहना भारतीय पक्षको छ। भारत र पाकिस्तान आमनेसामने हुँदा त्यसको असर नेपाल भित्रिने खाद्यान्नमा पनि समस्या हुन्छ कि भन्ने चासो छ। यति मात्रै होइन भान्सादेखि विकास निर्माणसम्मका धेरैजसो काममा भारतका उत्पादनको प्रभाव रहेकाले पनि हामीलाई असर गर्छ नै।

भारतीय राजदूत श्रीवास्तवाले यस विषयलाई स्पष्ट पार्दै भने, ‘खुला सीमा छ। एअरपोर्ट रोके नि सडक आउजाउमा समस्या हुँदैन। नेपाल र भारतबीच आपूर्तिमा समस्या हुनेछैन्। भारतले त्यस्तो हुन दिने पनि छैन। ’

खुला सीमा सबै कारणले सबै अत्यावश्यक वस्तु भारतबाट नै आउँछन्। त्यसको विकल्प हामीसँग छैन। चीनसँगको सम्बन्ध र सडक भए पनि सहज नहुँदा हामी एकतर्फी छौँ। उनले भारत-पाकिस्तानबीचको तनावका कारण नेपालसँगको आपूर्ति लाइनमा असर नपर्ने बताए। ‘नेपाल-भारत सम्बन्ध यथास्थितिमा ठिक छ,’ श्रीवास्तवले भने, ‘हामी नेपालको चिन्ता र यहाँको आमनागरिकको चासो पनि बुझ्छौँ र आपूर्ति शृंखालमा अवरोध आउन दिने छैनौँ।’

यस क्षेत्रमा संकट आउँदा नेपालले भारतको र भारतले नेपालको साथ दिँदै आएको छ। नेपालको व्यवस्था परिवर्तन होस् या यहाँको आमनागरिकको भावनासँग भारत सधैँ साथमा छ। भारतले नेपालको विकास र उन्नतिका लागि पनि सहयोग र सहकार्य गरिरहेकाे छ।।

सार्क कसरी अघि बढ्छ ?

राजदूत श्रीवास्तवले भारत क्षेत्रीय सहयोगका पक्षमा रहेको र सार्क राष्ट्रहरूसँग सहकार्यमा इच्छुक रहेको पनि बताए। ‘हामी चाहन्छौँ  कि दक्षिण एसिया क्षेत्र आतंकवादमुक्त, स्थिर र समृद्ध बनोस्,’ उनले भने, ‘नेपालजस्ता शान्तिप्रिय राष्ट्रहरूको साथले हामीलाई यो अभियानमा प्रेरणा मिल्छ।’

दक्षिण एसियामा अहिले शान्ति खलबलिएको छ। सबैजसो मुलुकमा राजनीतिक अवस्था सामान्य छैन।

भारत र पाकिस्तानबीचको द्वन्द्व क्षेप्यास्त्र र ड्रोन आक्रमणको तहसम्म पुगे पनि भारतले प्रतिरक्षा र युद्ध घोषणा नगरेकाले केही दिनमा शान्ति हुने सम्भवाना छ। अहिले भारत र पाकिस्तानबीच चलिरहेको आक्रमणले यी दुई मुलुकलाई मात्र होइन, दक्षिण एसिया क्षेत्रलाई नै अशान्त बनाइरहेको छ। परमाणु हतियार सम्पन्न दुई छिमेकी मुलुकको तनावले नेपालीमा पनि एक प्रकारको त्रास उत्पन्न भएको छ।

पाकिस्तानकै कारण सार्क अघि बढ्न नसकेको अवस्थामा कसरी सार्क अघि बढाउन सकिन्छ भन्ने हो। हो, यो क्षेत्रका लागि सार्क चाहिन्छ। तर चाहिन्छ भन्दैमा सबै विषय छोडेर यसमा अड्किरहन मिलेन। भारत र अन्य सदस्य मुलुकलाई सार्क आवश्यक देखिन्छ। तर अहिले नेतृत्वको कारण होला यो अझै अघि बढ्न सकेको छैन। २०१६ मा तय भएको शिखर सम्मेलन अन्तिम समयमा आएर रद्द भयो। यसमा पनि पाकिस्तान संरक्षित आतंककारीले भारतमा गरेको आक्रमण दोषी छ। त्यसयता सार्क शिखर सम्मेलन हुन सकेको छैन।

पाकिस्तानले चाहँदा र शान्ति क्षेत्रको परिकल्पना गरेमा साँच्चै यो क्षेत्रमा शान्ति कायम हुनेछ। यसमा सबैले आआफ्नो भूमिका निर्वाह गर्न पर्नेमा भारतीयहरुको जोड छ। ब‌ंगलादेशमा राजनीतिक स्थिरता छैन। श्रीलंका आफैँ समस्यामा छ। माल्दिभ्स पनि सामान्य अवस्थामा छैन।

 छिमेक, युरोप, अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायको साथ खोज्दै भारत

भारतले यतिबेला अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन खोजेको छ। त्यही आधारमा आतंकवाद निर्मूल गर्ने काममा लाग्ने चाहना भारतको देखिन्छ। अहिले पनि भारतले आफ्नो कार्यलाई साथ दिन अन्य मुलुकसँग भनिरहेको छ। भारतले चाहेअनुसारको समर्थन पनि पाइसकेको छ। अन्तर्राष्ट्रिय समुदाय, विशेषतः युरोप र अमेरिकाबाट भारतले समर्थन पाएको पनि राजदूत श्रीवास्तवले बताए।

उनले भने, ‘अमेरिका, युरोपेली संघलगायतका देशहरूले भारतको सुरक्षा चिन्तालाई मान्यता दिएका छन्।’

मिस-इन्फरमेसन र डिस-इन्फरमेसन ध्यान दिन आवश्यक

भारत-पाकिस्तानबीच यो द्वन्द्वमा गलत सूचना (मिस इन्फरमेसन) र नियोजित गलत सूचना (डिसइन्फरमेसन) को अखडा पनि बन्न सक्नेछ। सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सामग्री, तोडमोड गरिएका भिडियो र झुटा दाबीले दुवै देशका नागरिकमा भ्रम र आक्रोश बढाउँछ। जसले झनै युद्धतर्फ धकेल्छ भन्नेमा भारत निकै चिन्तित रहेको राजदूत श्रीवास्तवले बताए।

तनावग्रस्त परिस्थितिमा सत्य-असत्य छुट्याउन कठिन हुने भएकाले सञ्चारमाध्यम र सरकारहरू जिम्मेवार बन्नु अत्यावश्यक छ। त्यसैले सरकारी सूचना र आफ्ना निकटस्थको सूचना त्यो पनि ‘क्रस चेक’ गरेर मात्र प्रवाह गर्न आवश्यक देखिन्छ। ‘सरकारी सूचनाको आधारमा मात्र कुरा गर्न आवश्यक हुन्छ। अन्य सूचना प्रमाणित नभएसम्म कसैले पनि प्रयोग नगर्नुहोला,’ राजदूत श्रीवास्तवले भने, ‘तपाईँहरु नै पनि यसबाट पीडित हुनुहुन्छ। हाम्रा आधिकारिक सामाजिक सञ्जाल र दूतावास वा दिल्लीबाट जारी हुने विज्ञप्तिलाई आधिकारिक मान्नु होला।’

शुक्रबार साँझ भएको अन्तरक्रियामा भारतीय राजदूतका साथै नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, राजनीतिक विङका गीताञ्जली ब्रान्डोन र डा. साहिल कुमारका साथै  दूतावासका प्रवक्ताको भूमिकमा रहेका वशिष्ठ नन्दनसहितका अधिकारीहरूको उपस्थिति थियो।

निष्कर्ष

परम्परागत शत्रुता भएका भारत र पाकिस्तान अहिले युद्धको स्थितिमा पुग्नुको कारण पहलगाममा भएको घटना हो। यी दुई मुलकको झगडाको नजिकको साक्षी मुलुक हो, नेपाल। पञ्चशीलको सिद्धान्त मान्ने एक असंलग्न र शान्तिप्रेमी मुलुकको पहिचान छ नेपालको।

बेलायती साम्राज्यले यस क्षेत्र छोड्दा नै भारत र पाकितानबीच द्वन्द्वको बिउ रोपेको थियो। सन् १९७१ मा पूर्वी पाकिस्तान भिन्न भएर बंगलादेश बनेपछि झनै तिक्तता थियो। त्यो अझै रोकिएको छैन। नेपाल भारतसँग भौगोलिक निकटता, खुला सिमाना, व्यापारिक निर्भरता र सांस्कृतिक सम्बन्धले गर्दा नै यो द्वन्द्वबाट निरपेक्ष र प्रभावहीन रहन सक्दैन।

युद्धको प्रत्यक्ष चपेटामा नपरे पनि अप्रत्यक्ष प्रभाव भने गहिरो र दीर्घकालीन हुन्छ, चाहे त्यो आर्थिक, आप्रवासी संकट होस् वा कूटनीतिक दबाब। दुई छिमेकीबीचको द्वन्द्व दक्षिण एसियाका लागि मात्र खतरा बनेको छैन, विश्वव्यापी तनावको अर्को अध्याय पनि बन्न थालेको छ।

आज विश्वकै विभिन्न कुनामा युद्ध र हिंसा उग्र बनिरहेका छन्। रुस-युक्रेन अनि त्यसपछि इजरायल–हमास, यमनमा हुथी विद्रोह, सुडानको गृहयुद्ध, इजरायल–इरान सम्भावित टकराव र अमेरिका–चीनबीचको व्यापार युद्ध, हुँदै हाम्रै छिमेकमा यस्तो युद्ध सुरु भएको हो। यी सबैले वैश्विक व्यवस्था अस्थिर रहेको देखाउँछ। यो समयमा हामी सबै संयम हुनुपर्छ।

पहिलो र दोस्रो विश्वयुद्धपछि नै मानव सभ्यतालाई युद्धले केही दिँदैन भन्ने पाठ सिकाएको  थियो। अहिले उग्र रुपमा फेरि युद्ध उन्मुख देखिनु विश्वकै दुर्भाग्य हो। नवराष्ट्रवाद, राजनीतिक स्वार्थ र शक्ति प्रदर्शनको दौडले विश्वलाई पछाडि धकेल्न थालेको छ।

भारत र पाकिस्तान जस्ता परमाणु शक्तिहरूबीचको युद्धले उनीहरूलाई मात्रै होइन, छिमेकी राष्ट्र र सिंगो विश्वलाई गम्भीर संकटमा पार्न सक्ने हुनाले पनि सबै एक भएर आतंकवादलाई विश्वबाट निर्मूल पार्नुपर्छ। नेपालले भारत र पाकिस्तान दुवैलाई वार्तामार्फत समाधान खोज्न प्रोत्साहन गर्नुपर्छ। यसका लागि क्षेत्रीय संस्था सार्कको मञ्च पुनः सक्रिय बनाउने हो या अन्य माध्यम अपनाउने भन्ने जिम्मेवारी नेपालकै हो।

प्रकाशित: २७ वैशाख २०८२ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast