काठमाडौँ- दाङको एक मतदान केन्द्रमा साँझ ७ बजेसम्म मतदान हुने भएको छ। तुलसीपुर उपमहानगरपालिका-१० स्थित वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको हो। कर्मचारीकै गल्तीका कारण मतपत्र साटिएपछि दिउँसो १ बजेदेखिमात्रै मतदान सुरु भएको थियो। त्यसअघि ९१ मत खसेको र ती मतलाई बदर गर्ने सर्वदीय बैठकले निर्णय गरेपछि पुन: मतदान सुरु भएको हो।
यसअघि मत खसालेका ९१ जनालाई फेरि मतदान गर्न दिइएको छ। दाङ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार समय थप गर्ने सहमति भएसँगै पुन: मतदान सुरु गरिएको हो। कर्मचारीले प्रतिनिधिसभाको मतपेटिकामा खसाल्नका लागि पनि प्रदेशसभाकै मतपत्र दिएको थाहा पाएपछि रोकिएको थियो।
प्रकाशित: ४ मंसिर २०७९ १६:२७
प्रतिक्रिया