प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती मन्त्रिपरिषद्को सिफारिस

हिमाल प्रेस २३ वैशाख २०८२ १३:५९
12
SHARES
प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती मन्त्रिपरिषद्को सिफारिस

मकवानपुर- बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिस गर्ने निर्णय गरेको छ।

उक्त बैठकले बागमतीका पाँच सचिवको पदस्थापना र सरुवा समेत गरेको छ। बैठकले बैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र झलकराम अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

यसैगरी, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव विनु बज्राचार्यलाई हाल सामाजिक विकास मन्त्रालयमा सरुवा र प्रदेशसभामा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए।

यसैगरी, बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू–उपभोग परिषद् गठन गरी दुई विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। विशेषज्ञमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ।

सोही बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी, प्रदेश उच्च शिक्षा परिषद्को सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयमसेवक समूह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ। सोही प्रयोजनकालागि कुल एक करोड बजेट रहेको उक्त कार्यक्रमको कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सरकारको प्रवक्ता लामिछानेले बताए। उनका अनुसार बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

प्रकाशित: २३ वैशाख २०८२ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast