
काठमाडौँ – नेपालको अनौपचारिक भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन्। बुढानिलकण्ठ स्थित निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धको बारेमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ।
तीन दिने भ्रमणाका लागि चौथाईवाले बुधबार बिहान काठमाडौँ ओर्लेका हुन। दूतावास अधिकारीसँगको भेटघाटपछि उनले गृहमन्त्री रमेश लेखलाई भेटेपछि अन्य भेटघाट बाक्लो पारेका हुन्। राखी बाँधेर दिदी बनाएकी आरजुकोमा उनी लन्च खानेगरी नै पुगेका थिए। त्यहाँ लामै छलफल भएको हो।
पछिल्लो सत्ता सहकार्य के कस्तो भइहेको छ भन्नेमा उनको चासो रहेको थियो भने यो सहज ढंगले अघि बढेको जानकारी देउवाले दिएका थिए। उनले त्यहाँ रहँदा एमालेको नेतृत्वको कार्यशैलीबारेमा कांग्रेसको बुझाई र आम नागरिकको बुझाई के छ भनेर चासो व्यक्त गरेका थिए। उनले आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट गर्ने कार्यक्रम तय भए पनि उनीसँगको भेट सर्न सक्ने अघिकारीहरुले बताएका छन्।
उनले यहाँ रहँदा प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरु, प्रतिपक्षी दलका नेताहरू, मधेश केन्द्रित दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ। चौथाइवालेले आउने वित्तिकै गृहमन्त्री रमेश लेखक सँग भेट गर्दै सीमामा सुरक्षा बाढाउन पर्नेमा जोड दिएका थिए। भारतमा आतंककारी हमला भइरहेको र नेपाल पनि खुला सीमा भएकाले त्यसबाट पाठ सिक्न आवश्यक रहेको उनले बताएका थिए।
नेपालका सबै राजनीतिक दलहरूसँग सम्बन्ध अझ प्रगाढ बनाउन उनको भ्रमणको प्रमुख उद्देश्य रहेको जनाइएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दिल्लीमा राजनीतिक भेटघाट गरेर फर्केको भोलिपल्ट उनी नेपाल आएका हुन्। यसको एक दिन अघि देउवा दम्पत्ति पनि थाइल्याण्ड भ्रमण गरेर फर्केका थिए।
नेताहरूका अनुसार चौथाइवाले नेपाल आउनुलाई सत्ता गठबन्धनलाई जोड घाटाउ गरेर भनिरहेका छन्। चौथाइवाले भारतीय प्रधानमन्त्री एवं बीजेपीका नेता नरेन्द्र मोदीका निकटस्थ व्यक्तिको रुपमा चिनिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतको सम्बन्ध सुमधुर बन्न नसकी रहेको अवस्थामा चौथाइवालेको भ्रमणलाई राजनीतिकरुपमा अर्थपूर्ण नै मानिएको छ।