फाइल तस्बिर
काठमाडौँ– विद्यालय कानुनको माग गर्दै शिक्षकहरूले गरिरहेको आन्दोलन वार्ताबाटै टुंग्याइने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले यस्तो जानकारी गराएका हुन्।
सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षक आन्दोलन वार्ताबाटै टुंग्याउने जानकारी शिक्षामन्त्री पन्तले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएको बताए। सोमबार साँझ बसेको वार्तामा आन्दोलन टुंगिने दिशातर्फ उन्मुख भएको जानकारी पन्तले बैठकमा गराएका थिए।
सोमबार साँझ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेता र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ।
करिब तीन घण्टासम्म चलेको छलफलमा महासंघले उठाएका माग सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रुपमा प्रस्तुत भएको छ। दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अगाडि बढेपछि २७ दिनदेखि जारी शिक्षा आन्दोलन टुंगिने दिशातर्फ उन्मुख भएको बताइएको छ।
बैठकमा कांग्रेस उपसभापति खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।
त्यस्तै शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना सहभागी थिए।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनलाई सम्बोधनमार्फत प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।



