शिक्षक कर्मचारीलाई सुवेदीको अपिल- सडक संघर्षमै बल छ, काठमाडौँ आउनुहोस्

हिमाल प्रेस १४ वैशाख २०८२ १०:४६
82
SHARES
शिक्षक कर्मचारीलाई सुवेदीको अपिल- सडक संघर्षमै बल छ, काठमाडौँ आउनुहोस्

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हाल शिक्षक आन्दोलनका सन्दर्भमा राज्यसँग अनौपचारिक छलफल जारी रहेको जनाएका छन्। यद्यपि ती छलफलहरू अझैसम्म निष्कर्षमा पुग्न नसकेको भन्दै उनले आन्दोलनलाई अझ सशक्त र संगठित बनाउन आह्वान गरेका छन्।

‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन्,’ सुवेदीले बताएका छन्। उनले अन्तिम धक्का दिनका लागि सडक प्रदर्शनलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

आन्दोलन लम्बिदै जाँदा थप बाधा र अड्चन देखापरेको उल्लेख गर्दै सुवेदीले सबै आन्दोलनकारीलाई निरन्तर र दृढतापूर्वक उपस्थित हुन आग्रह गरेका छन्। उनले भने, ‘पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र संगठित लडाइँ हो।’

सुवेदीले आन्दोलनमा अनुशासन र संयम कायम राख्नुपर्नेमा पनि जोड दिएका छन्। उनले घरमै रहेका शिक्षकहरूलाई आन्दोलनमा सकृय सहभागिता जनाउन काठमाडौँ आउने आग्रह गर्दै भनेका छन्, ‘घर बसिरहेका साथीहरू, ‘म पनि जानुपर्छ, आन्दोलनमा मेरो उपस्थिति आवश्यक छ’ भन्ने कुराले तपाईंलाई घोचिरहेको छैन? आफ्नो आन्दोलनमा सक्रिय सहभागिताका लागि काठमाडौँ आउनुहोला।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast