
काठमाडौँ- फिल्म ‘डबल ट्रिपल’ आगामी फागुन १ मा प्रदर्शन हुने भएको छ। यसअघि दसैँको फूलपातीमा प्रदर्शन गर्ने भनिएको थियो। दसैँमा धेरै फिल्म जुध्ने भएपछि निर्देशक अशाेक शर्माले फेसबुक स्टाटसमार्फत आफ्नो फिल्म फागुन १ मा सारेको जानकारी दिएका हुन्।
उनले लेखेका छन् ,‘दसैँमा धेरै फिल्म आउने भए भरसक मिलाएर कम फिल्म ल्याएर निर्माता साथीहरू पनि सेफ होस् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न पनि तैयार भएनन्, त्यसैले ‘डबल ट्रिपल’ अब २०८२ फागुन १ गते रिलिज हुनेछ।’
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल, सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा र पटकथा लेखनमा निर्देशक शर्मा र राजेश सिटौलाले सहकार्य गरेका छन्।
फिल्ममा शम्भुजीत बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको एक्सन तथा सुनील क्षेत्रीको नृत्य निर्देशन रहनेछ। फिल्मको निर्मातामा किरण शर्मा पौड्याल, कीर्ति शर्मा र अंकित शर्मा छन्।