
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमानका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका छन्। संसद् भवनमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सदनलाई चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नसक्ने स्पष्ट पारेका हुन्।
विपक्षीले राखेको मागलाई प्रधानमन्त्रीले सहज रुपमा लिनुपर्ने उनको भनाइ छ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्पष्टीकरण चित्तबुझ्दो नभए आन्दोलन अघि बढ्ने जिकिर गरे। संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीसँग सहमति भएपछि आफू हिँडेको र त्यस दिन कुलमानबारे कुनै चर्चा नभएको जानकारी दिए।
‘संक्रमणकालीन न्यायसँग सम्बन्धित छलफलपछि कुलमानका विषयमा निर्णय गरेर प्रधानमन्त्रीले जालझेल गरेको आफूलाई महसुस भएको गुनासो प्रचण्डको छ। उनले संक्रमणकालीन न्यायसँग कुलमान साट्यो भनेर भ्रम फैलाइएको प्रति आफू दुःखित भएको बताए।