८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको

हिमाल प्रेस १३ चैत २०८१ ९:५८ | Wednesday, March 26, 2025
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको

काठमाडौँ- चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको घाटा बेहोरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

गत साउनदेखि फागुनसम्म भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँको आयात हुँदा एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ। चीनसँग दुई खर्ब १९ अर्ब १८ करोड रुपैयाँको आयात र दुई अर्ब १२ करोडको निर्यात हुँदा २१ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।

साथै अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब ईमिरेट्स, अष्ट्रेलियालगायतका मुलुकहरूसँग नेपालको व्यापारघाटा उच्च छ।

यस अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ। अफगानिस्तान, डेनमार्क, रसिया, अष्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ।

योअवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्ब रुपैयाँको एलपी ग्यास आयात गरेका छ। नौ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ।

यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्यांक छ।

प्रकाशित: १३ चैत २०८१ ९:५८ | Wednesday, March 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast