मुलुकमा केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भनौँ : गगन थापा

हिमाल प्रेस ८ चैत २०८१ १९:४७ | Friday, March 21, 2025
मुलुकमा केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भनौँ : गगन थापा

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताएका छन्।

पश्चिम नवलपरासीको परासीमा आज (शुक्रबार) आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उनले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताएका हुन्।

‘२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ। हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ.’ उनले भने।

नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्दै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सृजना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए।

‘हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ। सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ। हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्यांकन गरौँ,’ उनले भने।

राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताए। मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उनले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ८ चैत २०८१ १९:४७ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast