नक्कली शिक्षकका नाममा तलब निकासा : प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा

हिमाल प्रेस ८ चैत २०८१ ११:५४ | Friday, March 21, 2025
नक्कली शिक्षकका नाममा तलब निकासा : प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्दा

काठमाडौँ- कुलेश्वर माध्यामिक विद्यालय काठमाडौँका प्रधानाध्यापक सानुकान्छा (एस‍‍के) नेपाल  सहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। विद्यालयमा अनुपस्थित शिक्षकका नाममा तलबभत्ता निकासा गरी गैरकानुनी लाभ लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार प्रधानाध्यापक नेपालले प्राथमिक तहको राहत दरबन्दीमा कार्यरत करार शिक्षक विद्यालयमा अनुपस्थित हुँदा काठमाडौँ महानगरपालिकालाई जानकारी नगराई झुटा बिल भरपाई तयार पारेका थिए। उनले २०७९ साल माघदेखि २०८० असारसम्मको तलब भत्ता निकासा गरी  १ लाख५७ हजार९१५ रुपैयाँ रकम हिनामिना गरेको पाइएको छ।

अनुसन्धानका क्रममा अनुपस्थित शिक्षकको ठाउँमा श्रुति भण्डारी भनिने अम्बिका घिमिरेलाई सट्टा शिक्षकका रूपमा राखिएको खुलेको छ। प्रधानाध्यापक नेपालसँगै सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालय सहायक (लेखापाल) स्मृति रेग्मी र सट्टा शिक्षक अम्बिका घिमिरेसमेत अनियमिततामा संलग्न रहेको देखिएको अख्तियारको दाबी छ।

सहायक प्रधानाध्यापक घिमिरेले आफ्नै नाता पर्ने अम्बिका घिमिरेलाई प्रधानाध्यापकसँग मिलेर अनुपस्थित शिक्षकका स्थानमा अध्यापन गराएको आरोप छ। त्यस्तै लेखापाल स्मृति रेग्मीले झुटा कागजात खडा गरी शिक्षक अनुपस्थित रहेको अवस्थामा पनि तलब निकासा गराएको अख्तियारले जनाएको छ।

सट्टा शिक्षकका रूपमा अध्यापन गरेकी अम्बिका घिमिरेले पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ अनुसार मतियारको भूमिका खेलेको भन्दै प्रधान अभियुक्तहरू सरह सजायको माग गरिएको छ।

चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम कैद र जरिवाना सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ८ चैत २०८१ ११:५४ | Friday, March 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast