पीएन क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति तोकियो, इन्जिनियरिङमा स्वतन्त्रका उम्मेदवार निर्वाचित

हिमाल प्रेस ६ चैत २०८१ २१:१५
32
SHARES
पीएन क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति तोकियो, इन्जिनियरिङमा स्वतन्त्रका उम्मेदवार निर्वाचित

पोखरा- पृथ्वीनारायण क्याम्पस, पोखरामा मंगलबार स्थगित स्वतन्त्र विद्यार्थी युनियनको नयाँ मिति तोकिएको छ।

निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न संघ, संगठन, प्यानल र स्वतन्त्र उम्मेदवारसमेतको सर्वपक्षीय बैठकले १० चैतमा गर्ने गरी निर्णय गरेको निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए।

नयाँ निर्वाचन तालिका अनुसार ७ चैत मध्यरातदेखि मौन अवधि सुरु हुनेछ। साथै निर्वाचनका लागि विभिन्न कार्य क्षेत्रको जिम्मेवारीमा रहेका प्राध्यापक र कर्मचारीहरु यथास्थानमै जिम्मेवारी रहेको निर्वाचन समितिले जनाएको छ। यहाँ ९ हजार विद्यार्थी मतदाता छन्।

मंगलबार निर्वाचन समितिले मतपत्रमा भएको सामान्य त्रुटिमा हेक्का नपुर्‍याउँदा उत्पन्न विवादले चुनाव स्थगित हुन गएको थियो। २०६५ यता चुनाव हुन नसकेको पिएनमा यसपालि पनि चुनाव रोकिएपछि विद्यार्थीमा निराशा उत्पन्न भएको थियो।

मंगलबार बिहान मतदान प्रक्रिया सुरु हुनैलाग्दा मतपत्रमा अखिल (छैटौं) का अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको भेटिएको थियो। उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएपछि सुरुमा बुधबारसम्मका लागि चुनाव स्थगित गरिएको भन्दै निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरे। यत्तिकैमा साँझ निर्वाचन कार्यालयमा संयुक्त प्यानलसहित अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गर्‍यो।

तालाबन्दीपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन बाधा उत्पन्न भएकाले सर्वपक्षीय छलफलपछि स्ववियु निर्वाचन अर्को मिति तय गर्ने गरी निर्वाचन समितिले स्थगित भएको जनाएको थियो। पीएनमा २२ औं स्ववियु अध्यक्षका लागि स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार प्रतिस्पर्धामा छन्।

२१ सदस्यीय समितिका लागि १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव हुने व्यवस्था छ।

राष्ट्रियस्तरमै चर्चित नेता उत्पादन गरेको पृथ्वीनारायण क्याम्पसमा २०६५ सालयता चुनाव हुन सकेको छैन। २०७९ को चुनाव पनि अन्तिममा आएर भाँडिएको थियो।

यसपालि निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ, संगठन, प्यानल दर्ता भएका छन्। एमालेनिकट अनेरास्ववियुले एकछत्र जित्दै आएको पिएनमा यसपालि प्रत्यक्षतर्फ अनेरास्ववियुबाट विष्णु पोखरेल र नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने नेतृत्वको प्यानलबीच कडा प्रतिस्पर्धा छ।

यस्तै, अखिल (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल (छैटौं) बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ, संयुक्त प्यानलबाट सन्तोष पौडेल छन्। स्वतन्त्रबाट कमल सुवेदी र विप्लवी न्यौपाने अध्यक्षका उम्मेदवार हुन्।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौं), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन्।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य विजय पौडेलले यसपालि पनि विगतमा जस्तै अनेरास्ववियुको लोकप्रियता देखेर अन्य संगठनले चुनाव भाँड्ने परिपञ्च गरेको आरोप लगाउँछन्।

पोखरामा मंगलबार पोखरा नर्सिङ, वन क्याम्पस र पोखरा इन्जिनियरिङ कलेजमा मतदान भएको थियो। पोखरा नर्सिङमा अनेरास्ववियुकी प्रतिभा भण्डारी र वनमा अनेरास्ववियुकै अभिषेक शर्मा अध्यक्षमा निर्वाचित हुँदा इन्जिनियरिङमा स्वतन्त्रका प्रकाश धामी निर्वाचित भए।

पोखराको अर्को जनप्रिय क्याम्पसमा मंगलबार चुनाव हुन सकेन। संस्कृत क्याम्पसमा १० चैतमा मतदान हुने कार्यतालिका छ।

प्रकाशित: ६ चैत २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast