पीएन क्याम्पसमा स्ववियु चुनाव स्थगित

हिमाल प्रेस ५ चैत २०८१ १५:१२
8
SHARES
पीएन क्याम्पसमा स्ववियु चुनाव स्थगित

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा मंगलबार निर्धारित स्ववियु निर्वाचन स्थगित भएको छ। बुधबार ८ बजेदेखि मतदान हुने गरी निर्वाचन समितिले निर्वाचन स्थगित गरेको हो।

मंगलबार बिहान ८ बजे मतदान सुरु हुने भनिए पनि मतपत्रमा एक जना उम्मेदवारको रेजा लगाउने ठाउँ नभएका कारण विवाद भएपछि मतदान सुरु हुन नसकेको हो।

अखिल (छैटौँ) को अध्यक्ष पदका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएको थियो। उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएपछि मंगलबारका लागि स्थगित गरिएको निर्वाचन अधिकृत प्राडा. रामचन्द्र पोखरेलले जनाए।

उनका अनुसार बुधबार बिहान ८ बजेदेखि चुनाव हुनेछ। बिहान मतदान प्रक्रिया सुरु गर्नुपर्ने मागसहित विद्यार्थीहरुले बगरस्थित क्याम्पस गेटअघि नाराबाजी गरेका थिए। केही समय विद्यार्थी र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

मतदान गर्न आएका विद्यार्थी (मतदाता) समेत घण्टौँदेखि अन्यौलताबीच लाइन बसेर फर्किएका छन्।

धेरै मतदाता रहेको पीएनमा स्वतन्त्रसहित ८ जना अध्यक्षका उम्मेदवार छन्। २१ सदस्यीय बन्ने स्ववियुको समितिमा १० जना समानुपातिकबाट निर्वाचित हुने छन्।

समानुपातिक सदस्य निर्वाचित भएकामध्ये एक जना उपाध्यक्ष र एक जना सहायक सचिव हुने व्यवस्था छ।

एमालेनिकट अनेरस्ववियुले एकछत्र जित्दै आएको पीएनमा यसपालि अनेरास्ववियुबाट विष्णु पोखरेल तथा नेवि संघबाट सुशील न्यौपाने नेतृत्वको प्यानल चुनावी मैदानमा होमिएको छ।

प्रकाशित: ५ चैत २०८१ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast