होली खेलेर संकलित रकम शिक्षकको तलब र शैक्षिक सामग्रीमा खर्च गर्ने निर्णय

हिमाल प्रेस ४ चैत २०८१ १७:०१
16
SHARES
होली खेलेर संकलित रकम शिक्षकको तलब र शैक्षिक सामग्रीमा खर्च गर्ने निर्णय

बैतडी- विभिन्न विद्यालयले होली खेलेर संकलन गरेको रकम निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्ने भएका छन्। निजी स्रोतका शिक्षकहरूको तलबको जोहो गर्नकै लागि होली खेलिएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।

चार दिनसम्म होली खेलेर तीन लाख १८ हजार ८५० संकलन भएको अध्यक्ष भाटले बताए। उनले भने,‘स्थानीय संस्कृतिको संरक्षण र विद्यालय सञ्चालनका लागि होली खेलेका छौंँ, संकलित रकम शिक्षकको तलब र शैक्षिक सामग्री खरिदमा खर्च गरिनेछ।’

कक्षा १० सम्मको पढाइ हुने सिद्धेश्वर माविमा निजी स्रोतका शिक्षक रहेकाले उनीहरुको तलब व्यवस्थापनका लागि हरेक वर्ष होली खेल्ने गरिएको छ। यस्तै, पाटन नगरपालिका–१ स्थित सिद्धेश्वर मावि मेलचौराले होली खेलेर तीन लाख ३० हजार ६५७ संकलन गरेको छ। उक्त रकम विद्यालय सञ्चालनमा खर्च गरिनेछ।

पाटन नगरपालिका–१० को सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले होली खेलेर दुई लाखभन्दा बढी संकलन गरेको छ। संकलित रकम विद्यालयमा शैक्षिक सामग्री किन्न खर्च गरिने प्रधानाध्यापक लोकराज भट्टले बताए।

पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलङ्गाले ७९ हजार २३५ संकलन गरेको छ। जनता मावि आरुबाटा, सिगास मावि गुरुडा, केदार मावि कठमडालगायतले पनि यस वर्ष होली खेलेर रकम संकलन गरेका छन्।

केदारनाथ होली कमिटि श्रीकोट, जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाज, सैंपाल होली कमिटिलगायतका संघ संस्था, क्लब र समूले होली खेलेर रकम संकलन गरेका छन्।

होलीबाट संकलन गरिएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने केदारनाथ होली कमिटी श्रीकोटका अध्यक्ष गणेश विष्टले बताए।

प्रकाशित: ४ चैत २०८१ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast