
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गरेका छन्।
मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनालाई कसैले रोक्न नसक्ने दावी गरेका हुन्।
उनले भीडले नेताहरुलाई विस्थापित गरेर वा राजनीतिक दलहरुको बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापना भएरै छाड्ने बताए।
लिङ्देनले आफूहरु सबै दल अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्ने पक्षमा रहेको जिकिर गरे। उनले राजसंस्था र प्रजातन्त्र एक–अर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका बिकल्प नभएको जिकिर गरे।
उनले पूर्वराजाको स्वागतमा आफुहरुले अहिलेसम्मै ठूलो जनसागर देखेको उल्लेख गरे। पूर्वराजाको स्वागतका विषयमा केही सञ्चारमाध्यमले पूर्वाग्रही भएर समाचार सम्प्रेषण गरेको लिङ्देनको आरोप छ।