व्यावहारिक शिक्षासँगै लोक संगीतमा विद्यार्थीहरूको सिर्जनात्मकता बढ्दै

हिमाल प्रेस १ चैत २०८१ ७:५०
14
SHARES
व्यावहारिक शिक्षासँगै लोक संगीतमा विद्यार्थीहरूको सिर्जनात्मकता बढ्दै

तनहुँ- शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि विद्यार्थी आत्मनिर्भर हुन थालेका छन्। विद्यालयले लोक संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई नौमती बाजा बजाउने अवसर प्रदान गरेपछि उनीहरू उत्साहित भएका छन्।

विद्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले जानकारी दिएअनुसार, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा तालबेँसी बाजा समूह गठन गरिएको छ। अब विद्यार्थीहरूले विद्यालयका सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूमा नौमती बाजा बजाउन थालेका छन्। उनले भने, ‘व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थीले नौमती बाजा बजाउन सक्ने भएका छन्। अभिभावकहरू पनि विद्यार्थीहरूको प्रतिभा देखेर अचम्मित छन्।’

कक्षा ७ का विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा गठन भएको तालबेँसी बाजा क्लबमा कक्षा ७ का सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा ८ का रूविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेका छन्। बाजा बजाउन थालेपछि विद्यार्थीहरूले आफ्नो आर्थिक व्यवस्थापन पनि सजिलो भएको बताएका छन्। कक्षा ७ का विद्यार्थी अर्विन परियारले भने, ‘सानैदेखि वाद्यवादनमा रुचि थियो, विद्यालयले मलाई यो अवसर प्रदान गरेपछि मैले बाजा बजाउन सक्षम भएको छु। अब मैले आफ्नो दैनिक खर्च व्यवस्थापन गर्न पनि सजिलो भएको छ।’

विद्यालयका अन्य विद्यार्थीहरूले पनि आफ्नो सिर्जनात्मकता उजागर गर्नका लागि बाजा बजाउने अभ्यासलाई अवसरको रूपमा लिएका छन्। कक्षा ७ का विद्यार्थी सुकबहादुर विकले भने, ‘विद्यालयले वडाबाट बाजाको सेट उपलब्ध गराएपछि म व्यावसायिकतर्फ अगाडि बढ्न सक्षम भएको छु।’

वडाध्यक्ष धनबहादुर थापाले विद्यालयको मागलाई प्राथमिकता दिँदै भने, ‘विद्यार्थीहरूको क्षमता उजागर गर्नका लागि यो कार्यक्रम महत्त्वपूर्ण छ। विद्यार्थीहरू भविष्यका कर्णधार हुन् र हामीले बनाउने योजना दीर्घकालीन हुनु पर्छ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले विद्यालयले विद्यार्थीहरूको क्षमता पहिचान गर्दै व्यावहारिक शिक्षा प्रदान गरेको बताए। विद्यालयका अन्य शिक्षक र सदस्यहरूले पनि लोक संस्कृतिको संरक्षणमा बाजा कार्यक्रमको महत्त्वलाई उल्लेख गरेका छन्।

यस विद्यालयका विद्यार्थीहरूले हालसम्म शुक्लागण्डकी नगरपालिकाका विभिन्न कार्यक्रमहरूमा पनि आफ्नो कला प्रदर्शन गरिसकेका छन् र यसले विद्यार्थीहरूको आत्मविश्वास र क्षमतामा सुधार ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast