अबिरको होली, रिसायौ कि तरुनी…

हिमाल प्रेस २९ फागुन २०८१ १७:४० | Thursday, March 13, 2025
अबिरको होली, रिसायौ कि तरुनी… भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिर परिसरमा राखिएको काठको लिंग। तस्बिर : रासस

भक्तपुर– ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिंगले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत लोपोन्मुख छन्।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्ने प्रचलन थियो। अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन।

फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिंगलाई ब्रह्मायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रह्मायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै तचपालस्थित दत्तात्रय मन्दिरवरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ। यसरी घुमाउँदा भक्तजनले स्पर्श गरी ढोग्ने, दानदक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिंगलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ।

नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अर्थान् लिंग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ। ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात् झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वका रूपमा यो पर्वलाई लिने गरिन्छ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात् अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपालभाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ। होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन लोप भइसकेको छ।

भीमसेन गुठीले परम्परादेखि होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिंग र द्रौपदीको योनिको प्रतीकलाई झुन्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ। सात दिनसम्म लिंग र योनिको पूजा एवं दर्शन स्थानीयले गर्ने गरेका छन्।

भीमसेन र द्रौपदीको यौन सम्बन्धका प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रूपमा नभई सांस्कृतिक महत्त्वको रूपमा संरक्षण गर्दै आएका छन्।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिंग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनिमा भीमसेनको लिंग घचेटेर ढोग्ने गर्छन्। काठको लिंगको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ। यहाँ दर्शन गर्न आउनेले लिंग र योनिको समागम गराउँदा कपासलाई वीर्यको प्रतीकका रूपमा लिन्छन्। यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास छ।

हेर्दा अश्लील जस्तो देखिए पनि भक्तपुरका बासिन्दाले धार्मिक मान्यताका रूपमा लिँदै आएका छन्। बिहीबार बिहानै भीमसेन र काठको लिंग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भीमसेनको लिंग दर्शन गरेमा व्यापार बढ्ने विश्वास रहेको बताए। यो लिंगको दर्शन गर्न महिला पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन विहान आउने गर्दछन्। लिंगको दर्शन गरेर भेटी चढाउने गरेका छन्।

भक्तपुरका इतिहास एवं संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन्। ‘यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ’, उनले भने, ‘वर्षौँदेखि यहाँ प्रेम र यौनको प्रतीकका रूपमा होली पर्व मनाउँदै आइएको छ।’

प्रकाशित: २९ फागुन २०८१ १७:४० | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast