काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको आवश्यकता अझै बढिरहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले वैकल्पिक राजनीतिको महत्त्व र यसको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरे।
डा.भट्टराईले विचार राजनीतिमा चासो घट्दै गएकाले नयाँ सोच आवश्यक रहेको बताए। ‘राजनीति कुनै व्यक्तिको निजी कुरा मात्र होइन, यो खुला छलफलको विषय हो। विभिन्न दलका नेताहरूबीच खुलेर विचार आदानप्रदान हुनु जरुरी छ,’ उनले भने।
उनका अनुसार वैकल्पिक राजनीति केवल नयाँ पार्टी खोल्ने वा नयाँ नारा दिने मात्र होइन, विचार, नीति, शैली, संस्कार, बानीव्यवहार र आचरणमै नयाँपन ल्याउनु हो। ‘हाम्रो पार्टीको महाधिवेशनले पारित गरेका दस्तावेजहरू सार्वजनिक मात्र गर्न खोजिएको होइन, व्यापक छलफल गरी देशको आवश्यकता अनुसार परिमार्जन गर्दै लैजानुपर्ने देखिन्छ,’ उनले थपे।
डा. भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाजस्ता परम्परागत दलहरू यथास्थितिमा रहेको बताए। ‘यी दलहरू सत्तामा हुँदा सबै ठीक भन्छन्, सत्ताबाट हटेपछि ठिक छैन भन्छन्। तर, यो संसदीय खेल मात्र हो। यी दलहरूबाट देशका वास्तविक समस्या समाधान हुने सम्भावना छैन,’ उनले बताए।
उनले देशमा बेरोजगारी बढ्दै गएको, युवाहरूमा निराशा देखिएको र दलहरू भ्रष्टाचारमा संलग्न भएकाले नागरिकको विश्वास गुम्दै गएको बताए। ‘राजावादी शक्ति टाउको उठाउँदै छन्, छिमेकी देशहरू आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन्। यस्ता चुनौतीहरू समाधान गर्न वैकल्पिक राजनीतिको निर्माण अपरिहार्य छ,’ उनले भने।
डा. भट्टराईले वैकल्पिक राजनीतिको अभावमा देश गम्भीर द्वन्द्वतिर जान सक्ने खतरा रहेको बताए। ‘राजतन्त्र फिर्ता आउँछ भन्ने मलाई लाग्दैन तर देश अराजकतातिर गयो भने अवस्था गम्भीर बन्न सक्छ। त्यसैले, हामीले वैकल्पिक शक्ति निर्माणलाई तीव्र बनाउनुपर्छ,’ उनले जोड दिए।
उनले नयाँ शक्तिबाट सुरु गरिएको वैकल्पिक राजनीतिको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा, विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा, नागरिक समाजका अगुवा, नेसपा नयाँ शक्तिका नेताहरू, सञ्चारमाध्यमका सम्पादक र पत्रकारहरू उपस्थित थिए।




