
काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवम् पूर्वशिक्षामन्त्री अर्जुननरसिंह केसीले आन्दोलनरत शिक्षकसँग वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रनिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले विद्यालय शिक्षा ऐन पनि तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराए।
केसीले सरकारले यसअघि शिक्षकसँग पटकपटक सम्झौता गर्दै आएको तर कार्यान्वयन नगरेको आरोप लगाए। उनले भने, ‘सरकार निरन्तर रूपमा सम्झौता मात्रै गर्दै आएको छ। अनि त्यो सम्झौतालाई निरन्तर अपहेलना गर्दै आएको छ। त्यो खेदजनक र निन्दनीय छ।’
उनले राज्यलाई कसैलाई वचन दिएपछि त्यसमा इमानदार हुनुपर्नेमा जोड दिए। ‘महासंघसँग जुन सम्झौता भएको छ, त्यसलाई अनादर गर्नु दुःखद र निन्दनीय हो। सरकारले पटकपटक गरेको प्रतिबद्धतालाई पालना गर्दै तत्काल शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ।’ केसीले १७/१८ थरीसम्म शिक्षककालाई एकीकृत गरी व्यवस्थापन गर्ने कार्यमा सरकार तुरुन्तै लाग्नुपर्ने बताए।
शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ विभिन्न पेसागत माग राखेर आन्दोलनरत छ।