अमेरिकाबाट फर्काइएका नेपालीले दलाललाई बुझाएका थिए ४० लाखसम्म

हिमाल प्रेस २१ फागुन २०८१ १४:२२
1.4k
SHARES
अमेरिकाबाट फर्काइएका नेपालीले दलाललाई बुझाएका थिए ४० लाखसम्म

काठमाडौँ- अमेरिकाबाट निष्कासित भई स्वदेश फर्किएका नेपालीहरू ४० लाख रुपैयाँसम्म रकम बुझाएर अमेरिका पुगेको खुलेको छ। नेपाल फर्किएपछि उनीहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानमा उनीहरूले यस्तो जानकारी दिएका हुन्।

प्रारम्भिक सोधपुछमा केही नेपालीले ब्राजिल हुँदै अमेरिका पुगेको बताएका छन्। उनीहरूलाई अध्यागमन कानुन उल्लंघनको अभियोगमा फर्काइएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनका अनुसार अमेरिकामा जानका लागि नेपालीले ठूलो रकम खर्च गरेको र सो क्रममा उनीहरूलाई फकाईएको जानकारी प्राप्त भएको छ।

अमेरिका पठाउने व्यक्तिहरूविरुद्ध मुद्दा दर्ता गर्नको लागि ती नेपालीहरूले इच्छाशक्ति नदेखाएको र उनीहरूले प्रतिव्यक्ति २७ लाखदेखि ४० लाखसम्म खर्च गरेर अमेरिका पुगेको सोधपुछका क्रममा खुलेको ब्युरोले जनाएको छ। ‘मानव बेचबिखन र ओसारपसारको दृष्टिकोणबाट हामीले केही प्रश्न सोधेका थियौँ। उनीहरूले धेरै एजेन्ट र व्यक्तिसँग सम्पर्क गरेर अमेरिका पुगेको प्रतिक्रिया दिएका छन्,’ प्रहरी उपरीक्षक कुँवरले भने।

सोधपुछका क्रममा अमेरिकी प्रवेशको लागि नेपाली चारदेखि पाँच एजेन्टसँग सम्पर्क गरेको र प्रत्येक एजेन्टलाई विभिन्न देशहरूमा पैसा दिएर अमेरिका छिरेको कुरा पाइएको छ। सोधपुछ सकिएपछि ती नेपालीलाई परिवारको जिम्मा लगाइने ब्युरोले जानकारी दिएको छ। बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जना नेपाल फर्काइएको हो। अमेरिकी विमानको चार्टर उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेपछि अध्यागमनले केही प्रक्रिया पूरा गरी प्रहरीको जिम्मा लगाएको थियो।

प्रकाशित: २१ फागुन २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast