गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान

हिमाल प्रेस २१ पुष २०७९ १६:४२
4
SHARES
गण्डकी प्रदेश सरकार गठनका लागि आह्वान

पोखरा- गण्डकी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न गुरुङले आह्वान गरेका हुन्। कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेसम्मको समय तोकिएको छ।

६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो। जसअनुसार २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ। मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

संघमा कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले गठबन्धनको सरकार बन्ने भएको छ। केन्द्रको समीकरणअनुसार नै प्रदेशमा पनि गठबन्धन हुने भएकाले मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको सम्भावना बलियो छ। गण्डकीका नवनिर्वाचित सांसदको पहिलो अधिवेशन १८ पुसदेखि सुरु भएको हो। उक्त दिन ३ विधेयक टेबुल भएको छ। बैठक प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको सभाध्यक्षतामा बसेको थियो। संसद्को अर्को बैठक २९ पुस दिउँसो १ बजे बस्नेछ।

प्रदेशका सांसद गत पुस १४ मा सपथ ग्रहण गरेका हुन्। अघिल्लो दिन ज्येष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

प्रकाशित: २१ पुष २०७९ १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =