
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा अघिल्लो पटकको तुलनामा धेरै सिट जित्ने गरी चुनावी तयारीमा लाग्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।
चुनावमा एउटामात्र दलले बहुमत ल्याउने संभावना कम रहेको भन्दै उनले अघिल्लो चुनावको तुलनामा धेरै सिट जित्नुपर्ने आवश्यकता व्यक्त गरेका छन्।
आज भैरहवामा आयोजित प्रतिनिधिसभा क्षेत्रीय सभापति र क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उक्त धारणा राखेका हुन्।
उनले पार्टीमा केही असहमतिका मुद्दा आएमा त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त र सक्रिय बनाइ राख्नुपर्ने बताए। ‘हामीबीच कतिपय कुरा नमिलेका हुन सक्छन्। यी सबै कुरा आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट बनाउन सक्नु पर्दछ,’ देउवाले भने।
साथै, देउवाले वर्तमान सरकार सफल हुने दाबी पनि गरे। उनले भने,‘सत्तामा प्रमुख दल कांग्रेस र एमाले भएपनि अन्य दलको सहभागिता पनि राम्रो कुरा हो।’
नेपालको शासन प्रणाली लोकतान्त्रिक र समावेशी भएको उनले बताए। लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दलको भूमिका महत्त्वपूर्ण हुने उनले जोड दिएका छन्।