दुई दिने प्रशिक्षणका लागि कांग्रेसका शीर्ष नेतासहित १६५ क्षेत्रीय सभापति भैरहवामा

हिमाल प्रेस १९ फागुन २०८१ ८:५७
12
SHARES
दुई दिने प्रशिक्षणका लागि कांग्रेसका शीर्ष नेतासहित १६५ क्षेत्रीय सभापति भैरहवामा फाइल तस्बिर

काठमाडौँँ- नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ। प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगिसकेका छन्।

सोमबार पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। देउवाले प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनेछन्।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्रका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी भएका छन्। कार्यक्रममा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ।

प्रशिक्षण कार्यक्रममा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि भैरहवा पुग्ने कार्यक्रम रहेको छ। गृहमन्त्री रमेश लेखक र अन्य नेता शेखर कोइराला र मिनेन्द्र रिजाल सहितका नेताहरू शनिबारदेखि नै रुपन्देहीमा उपस्थित भएका छन्।

उद्घाटनपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारका विकास, संविधान र मुलुकको विकासका लागि कांग्रेसको भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्यता र आमनिर्वाचनका विषयमा प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

यस क्रममा सहभागीहरूले आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गर्नेछन्। क्षेत्रीय सभापतिहरूले वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिनेछन् भने सरकारमा सहभागी दुई जना मन्त्रीले ती सुझावहरूको जवाफ दिने कार्यक्रम पनि राखिएको छ।

प्रकाशित: १९ फागुन २०८१ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast