उसागी र गोया जापानी शब्द हुन्। उसागीको नेपाली अर्थ खरायो हो भने गोया भनेको कोठा हो। दुवै शब्द मिलाएपछि खरायोको कोठा वा खोर भन्ने बुझिन्छ। यी शब्द जापानीले यदाकदा दैनिक रूपमा प्रयोग गर्छन्। जापानीहरूमा आफूआफूबीच र नयाँ विदेशी मित्रसँग कुरा गर्दा पनि यी शब्द प्रयोग गर्ने चलन छ। खास भन्नुपर्दा उसागी गोया सानो ठाउँ जनाउने शब्द हो।
जापान तीन लाख ७७ हजार वर्गकिलोमिटरमा फैलिएको टापु राष्ट्र हो। जापानबाट नजिक भनेकै कोरिया प्रायद्वीप हो, जुन १४ सय किलोमिटर टाढा पर्छ। भौगोलिक रूपमा एक्लो टापु राष्ट्र भएकाले पनि जापानीहरूमा सिमागुनी कोन्ज्यो सोचाइ पाइन्छ। यो उनीहरूको परम्परागत सोचाइ हो। यो भनेको टापुका बासिन्दाले विदेशीसँग धेरै संगत नगर्ने तथा विदेशीलाई विश्वास नगर्ने नीति पनि हो।
सानो टापु राष्ट्र जापानमा करिब १२ करोड ५० लाख जनता बसोबास गर्दछन्। जमिनको कमी छ। ठूला सहरमा जग्गाको मूल्य एकदम महँगो छ। ठूलाठूला अपार्टमेन्ट बने तापनि जोकोहीले किन्न सक्दैनन्। ६० प्रतिशत जापानीको आफ्नो घरजग्गा हुँदैन भन्ने भनाइ छ।
आफ्नो घर वा अपार्टमेन्ट हुनेले पनि सानो र ठाउँको कमी हुने भएकाले जापानीहरूले आफ्ना साथीभाइलाई घरमा बोलाउने हिम्मत गर्दैनन्। विदेशीलाई त झनै बोलाउँदैनन्। सानो ठाउँमा निकै अव्यवस्थित बसाइ हुने भएकाले यस्तो भएको हो।
मैले जापान बसाइताका धेरै ठाउँमा घुमफिर गर्ने अवसर पाएको थिएँ। जापानका ४७ प्रान्तमध्ये २४ वटा प्रान्तमा पुगेको छु। जापानमा एउटा कुरा धेरै मननयोग्य छ। विकासको अवस्था जहाँ पनि प्रायः उस्तै खालको छ। सहर र सडकका बनावट र घरको संरचना उस्तै प्रकारका छन्। उत्तरी होक्काइडोदेखि दक्षिणी टापु ओकिनावासम्म विकासको समाना ढाँचा देखिन्छ।
भाषामा अलिअलि फरक पाइए तापनि खानेकुरामा समानता पाइन्छ। यसरी जापानको विकास प्रक्रियामा भिन्नताभन्दा समानता धेरै पाइन्छ।
सन् १९९१ देखि १९९५ सम्म बैंककमा कार्यरत रहुँदा थुप्रै जापानी मित्रहरू बनेका थिए। तीमध्ये एक अभिन्न मित्र थिए, सातोह सान। उनको घर ओसाकामा थियो। उनी बैंककमा एउटा कम्पनीको शाखा कार्यालयमा म्यानेजरका हैसियतमा कार्यरत थिए।
मलीन अनुहार देखेर मैले सोधेँ, ‘सातोह सान! आज के भयो तपाईंलाई?’ उनले बिस्तारै कुरा खोले। ‘मित्र मोहन! हेर न, आज मलाई कम्पनीबाट सरुवाको पत्र आयो। अब म परिवारसहित ओसाका फर्कनुपर्ने भयो।’ मैले मनमनै सोचेँ, आफ्नो घर फर्कन पाउँदा पनि यो जापानी किन खुसी नभएको होला?
ठूलो घर तथा चारपाँच जना सहयोगी भएकाले निकै आरामसाथ काम गरी बसेका थिए उनी। मलाई पटकपटक घरमा बोलाएर आतिथ्य प्रदान गरेको स्मरण ताजै छ। मैले पनि आफ्नो अपार्टमेन्टमा बोलाएर आतिथ्य प्रदान गरेको थिएँ।
एक दिनको कुरा हो, उनीसँग एउटा डिनरमा भेट भयो। उनी त्यति खुसी देखिएका थिएनन्। मलीन अनुहार देखेर मैले सोधेँ, ‘सातोह सान! आज के भयो तपाईंलाई?’ उनले बिस्तारै कुरा खोले। ‘मित्र मोहन! हेर न, आज मलाई कम्पनीबाट सरुवाको पत्र आयो। अब म परिवारसहित ओसाका फर्कनुपर्ने भयो।’ मैले मनमनै सोचेँ, आफ्नो घर फर्कन पाउँदा पनि यो जापानी किन खुसी नभएको होला?
अनि ओसाकामा तपाईंको घर छ कि छैन भन्ने मेरो प्रश्नमा उनी अनकनाए। झिनो स्वरमा भने, ‘घर भनूँ कि अपार्टमेन्ट। एउटा सानो अपार्टमेन्ट त छ। मेरो परिवार त्यसैमा बस्नुपर्ने भयो।’
बैंककमा आरामसँग बसेकाले फर्कनुपर्दा उनी दुःखी भएका रहेछन्। परिवर्तनशील दुनियाँमा आफूलाई पायक पर्ने, मन पर्ने कुरा मात्र कहाँ पाइन्छ र? समयले ल्याएको परिवर्तनलाई स्वीकार गरेर बाँच्न सक्नु नै जीवनको यथार्थ र खुसी हो। डिनरपछि हामी छुट्टियौँ। त्यसपछि अहिलेसम्म हाम्रो भेट भएको छैन।
सन् २०१९ को ३ सेप्टेम्बरमा म सपरिवार अमेरिका गएको थिएँ। हामी नोभेम्बर २५ मा अबुधाबी भएर काठमाडौँ फर्कियौँ। हवाई टिकट किन्दा ट्राभल एजेन्टले अबुधाबी एयरपोर्टमा ‘ले ओभर’ पाउने व्यवस्था मिलाइदियो। हामी खुसी थियौँ। म अबुधाबी सहरमा पहिला तीन वर्ष बसिसकेको थिएँ।
अबुधाबी व्यवस्थित र आधुनिक सहर हो। भोलिपल्ट बिहानै काठमाडौँ फर्कनुपर्ने भएकाले सहर भ्रमण नगर्ने निधो गर्यौँ। अबुधाबी एयरपोर्टमा विमान अवतरण गरेपछि हामीले पाउने ‘ले ओभर’ का लागि काउन्टरमा सम्पर्क राख्यौँ। काउन्टरकी महिला कर्मचारीले एउटा कागज हातमा थमाइदिइन्। त्यसपछि एउटी फिलिपिनो युवतीले गाइड गरिन्।
हामी ‘ले ओभर’ पुग्यौँ। कोठामा पस्न खोज्दा अप्ठ्यारो महसुस भयो। एउटा कोठा यस्तै पाँच फिट चौडाइ र ७ फिट जति लम्बाइको होला। त्यति सानो कोठामा पनि तलमाथि गरी दुईवटा खाट थिए। दुईजना तलमाथि गरी सुत्न सकिने रहेछ। एउटा सानो टेबुल थियो। लुगा झुन्ड्याउने त्यति राम्रो व्यवस्था थिएन। सुटकेस पनि मुस्किलले राख्न पाइयो। जिउ राम्ररी घुमाउन गाह्रो महसुस भयो।
अबुधाबीजस्तो वैभवशाली सहरको भव्य एयरपोर्टमा यति सानो कोठा! कुन मनले बनाएको होला? कुन सानो चित्तको आर्किटेक्ट र इन्जिनियरको सोेचाइ होला यस्तो सानो कोठा बनाउने? म त छक्क परेँ। एकछिन सुस्केरा हालेँ। जेनतेन एक रात बिताउने हो भनी चित्त बुझाएँ। अनि अबुधाबीमा बस्दा एचएसबीसी भवनको ११ औँ तलामा रहेको तेलकासा खेल्न पुग्ने ठूलो अपार्टमेन्ट पनि सम्झन पुगेँ।
मनमा आयो संसारको यतिका सहर घुमिसकेँ तर अबुधाबीमा आएर यसपालि त साँच्चिकै उसागी गोयामा पो बास बस्नुपर्ने भयो एकरात भए नि। जापानीहरूले अलि गिज्याएर सानो ठाउँलाई भन्ने गरेको उसागी गोयामा सुत्ने प्रयत्न गर्दागर्दै उठ्ने बेला पो भइसकेछ। भोलिपल्ट बिहान यो बिर्सनै नसकिने अनुभव मनमा राखेर स्वदेश फर्किएँ।
[श्रेष्ठ पूर्वराजदूत हुन्।]