काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए।
उक्त अवसरमा नेपाल-जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारले नेपालको आर्थिक-सामाजिक विकासमा पुऱ्याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको गृहमन्त्री गृरुङको सचिवालयले जनाएको छ।
सो क्रममा गृहमन्त्रीले निर्माणाधीन नागढुंगा टनेल मार्ग परियोजनासहित अन्य विभिन्न पूर्वाधार तथा विकास आयोजनाको प्रगतिबारे चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पुऱ्याइरहेको बताए।
गृहमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याए।
नेपालमा विपद् व्यस्थापनसम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न जापानसँग प्राविधिक सहयोग तथा ज्ञान हस्तान्तरणको आवश्यकता रहेको धारणा राखे।
गृहमन्त्रीले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपाली नागरिकप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै त्यसका लागि धन्यवाद ज्ञापन गरे।
राजदूतले नेपालीहरू जापानी समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा प्रभावकारी योगदान पुऱ्याइरहेको उल्लेख गर्दै नेपाल–जापान आप्रवासन सहकार्यलाई अझ व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताए।
शिष्टाचार भेटघाटका क्रममा पर्यटन क्षेत्रलाई दुईपक्षीय सहकार्यको एक महत्वपूर्ण आधारका रूपमा अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो।
त्यस क्रममा लुम्बिनी क्षेत्रको दिगो पर्यटन विकासका साथै नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न दुई मुलुकबीच रणनीतिक साझेदारी आवश्यक रहेको गृहमन्त्री गुरुङले बताए।



