कांग्रेस-एमालेले संविधान लागू गर्न चाहेका छैनन् : प्रचण्ड

हिमाल प्रेस १३ फागुन २०८१ १५:३८
18
SHARES
कांग्रेस-एमालेले संविधान लागू गर्न चाहेका छैनन् : प्रचण्ड जनतासँग माओवादी तराईमधेश जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा मंगलबार आयोजित खबरदारी सभामा नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले चाहे जति अधिकार पूर्ण नभएको र कांग्रेस एमाले जस्ता दलहरूले भएकै संविधान लागू गर्न नचाहिरहेको आरोप लगाएका छन्। जनतासँग माओवादी तराईमधेश जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा मंगलबार आयोजित खबरदारी सभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेको बताए।  उनले जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आमउत्पीडित समुदायले साथ दिनुपर्ने बताए।

अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नुसरह भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको संकल्प गर्न अभियान ल्याएर आएको बताए। उनले आजको दिनमा नेपाल राष्ट्र र नेपाली जनताका अधिकारको रक्षा माओवादीबाहेक कसैले गर्न नसक्ने स्पष्ट गर्दै साथ सहयोगका लागि जनतालाई आग्रह गरे।

प्रचण्डले आगामी चुनावमा गठबन्धन राजनीतिको भुल नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे। विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको, माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नदोर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रुपमा ऊर्जा दिने बताएका छन्। पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको प्रचण्डको दाबी छ। उनले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यावहारिक रूपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिने बताए।

अध्यक्ष प्रचण्डले पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए। अध्यक्ष प्रचण्डले जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफैँ सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको बताए।

प्रकाशित: १३ फागुन २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast