आन्तरिक व्यवस्थापन नहुँदा कांग्रेस कमजोर देखिएको छ : नेता सिंह

हिमाल प्रेस १० फागुन २०८१ २०:०७ | Saturday, February 22, 2025
12
SHARES
आन्तरिक व्यवस्थापन नहुँदा कांग्रेस कमजोर देखिएको छ : नेता सिंह

धनुषा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टी विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन्।

नेपाली कांग्रेस धनुषाले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्र सबैलाई समेटेर विधानअनुसार नै महाधिवेशन हुने स्पष्ट पारे।

‘विधि र नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुन्छ। सबैलाई मिलाएर महाधिवेशन हुनेमा सबै विश्वस्त छौँ,’ नेता सिंहले भने।

उनले आन्तरिक व्यवस्थापन हुन नसक्दा कांग्रेस बलियो भएर पनि कमजोरजस्तो देखिएको जिकिर गरे।

‘कांग्रेस बलियो छ।आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ। पार्टीभित्रका समस्या हामीले नै समाधान गर्ने हो। पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिनेगरी संगठनलाई अघि बढाउन आवश्यक छ,’ पूर्वमहामन्त्री सिंहले भने, ‘पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र बृहत्त एकता कायम हुन्छ। आफ्ना गुट, उपगुटलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्तिले समस्या गर्छ। यसर्थ मनमुटाव समयमै व्यवस्थापन गरी सबै एकताबद्ध भएर अघि बढौँ।’

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए।

आमनागरिकलाई अधिकारसम्पन्न बनाउने जनचाहनाअनुसार नै राजनीतिक स्थिरताको जगमा विकास र समृद्धिका लागि सरकारले काम गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना र गुरु बराललगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १० फागुन २०८१ २०:०७ | Saturday, February 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast