१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै महाधिवेशन गराउँछ : सिंह

हिमाल प्रेस २ असोज २०८३ १५:३४ | Friday, September 18, 2026
१४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै महाधिवेशन गराउँछ : सिंह

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने बताएका छन्।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने बताए।

उनले आफ्नो पक्षका अरु नेताले जुनसुकै बाटो रोजे पनि वा साथ छोडे पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग रहने धारणा राखे। नेता सिंहले विधान र नियम मिचेर, पद र सुविधाका लागि जबर्जस्ती आह्वान गर्न खोजिएको ’विशेष महाधिवेशन’ अलोकतान्त्रिक अभ्यास भएको भन्दै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दावी गरे।

पार्टीको विधि, नियम र विधानलाई तोडमोड गरेर गरिने महाधिवेशनको सट्टा नियमित प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने उनले बताए। उनले अदालतले कानुनी निरुपण गर्ने भए पनि राजनीतिक मुद्दाहरूको समाधान पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र पद्धतिबाटै हुनुपर्ने उल्लेख गरे।

२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।

प्रकाशित: २ असोज २०८३ १५:३४ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast