परराष्ट्रमन्त्री देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

हिमाल प्रेस ४ फागुन २०८१ १५:५५ | Sunday, February 16, 2025
परराष्ट्रमन्त्री देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच साइडलाइन भेट भएको हो।

भेटका क्रममा उनीहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो।

त्यसअवसरमा मन्त्री देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गरेकी थिइन्। उनले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन्।

केही समय अघि पनि मन्त्री देउवाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन्।

खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन्।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ। मन्त्री देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्रराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छन्।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए।

प्रकाशित: ४ फागुन २०८१ १५:५५ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast