अध्यादेशबारे जसपा नेपाल : अन्यमा समर्थन, भूमिसम्बन्धी अध्यादेशमा विरोध

हिमाल प्रेस २९ माघ २०८१ १५:२२ | Tuesday, February 11, 2025
अध्यादेशबारे जसपा नेपाल : अन्यमा समर्थन, भूमिसम्बन्धी अध्यादेशमा विरोध जसपा नेपालको पार्टी कार्यालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएका पाँचवटा अध्यादेशमा समर्थन गर्ने भएको छ।

जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धीबाहेक अन्य सबै अध्यादेशलाई समर्थन र पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हितविपरित रहेको ठहर गर्दै जसपा नेपालले विरोधमा उत्रिने निर्णय गरेको छ।

जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिणामको सीमा तथा क्षेत्रसमेत नतोकी बिक्रीवितरण गर्ने वा बाँड्ने उद्देश्यले ल्याइएको बताएका छन्।

यो अध्यादेशप्रति आफ्नो पार्टीको विरोध रहेको उनको भनाइ छ। भूमिहीन र सुकम्बासीलाई दृष्टिगत गरी अध्यादेश ल्याएको सरकारले बताए पनि यसको अन्तर्य छुट्टै रहेको जसपा नेपालको ठहर छ।

‘…यो अध्यादेश पारित भएको खण्डमा केही भ्रष्टाचारी, कमिशनखोर विचौलिया, दलाल, सरकार नजिक रहेका व्यक्तिहरू, भू–माफिया र ठूला रियल स्टेट व्यापारीहरूका साथै आवास कम्पनीरूलाई लाभ हुनेछ,’ अध्यक्ष यादवले निकालेको विज्ञप्तिमा भनिएको छ।

भूमिहीन, सुकुम्बासीलगायतको समस्या समाधान गर्न नेपालको प्रचलित ऐनअनुसार गर्न सकिने उनको भनाइ छ।

‘सरकारले उनीहरूको समस्या समाधान गर्नु पर्दछ। सरकारले गर्न पनि सक्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘तर, अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हितविपरित रहेको छ।’

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को विरोधमा उभिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको जसपा नेपालले अन्य पाँच अध्यादेशलाई समर्थन गर्न र पक्षमा मतदान गर्न सकिने जनाएको छ।

प्रकाशित: २९ माघ २०८१ १५:२२ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast