प्रचण्डले भने, हामीले पार्टी एकता कायम राख्न सकेनौँ, गल्ती भएकै हो

हिमाल प्रेस २२ माघ २०८१ १५:२५
24
SHARES
प्रचण्डले भने, हामीले पार्टी एकता कायम राख्न सकेनौँ, गल्ती भएकै हो माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

म्याग्दी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन्। माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौँ’, अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो। अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौँ।’

आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा गरेका ऐतिहासिक कामबाट तर्सेर भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको दाबी प्रचण्डको छ। उनले अहिलेको सरकार संविधान र लोकतान्त्रिक भावनाविपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको बताए।

उनले भने, ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ।’

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई समेत जानकारी नगराएर रातको ११ बजेपछि बिचौलिया र दलालहरुको घरमा बैठक बसेर बनाएको सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्दैन भनेर आफूहरुले सुरुदेखि भन्दै आएको र यो क्रमशः पुष्टि पनि हुँदै गएको बताए।

प्रकाशित: २२ माघ २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast