काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको जानकारी दिए।
साहारा सहकारी ठगीमा सहकारीका संस्थापक जीबी राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ। लामिछाने गोरखा मिडियाका तत्कालीन सेयरधनी, सञ्चालक र प्रबन्ध निर्देशक हुन्।
योसहित सहकारी प्रकरणमा लामिछनेविरुद्ध चार जिल्लामा मुद्दा दर्ता भएको छ। यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भएको मुद्दा विचाराधीन छ। तीनै जिल्लामा गरी लामिछानेले धरौटी बापत सवा दुई करोड रुपैयाँ बुझाइसकेका छन्।
कास्की जिल्ला अदालतले गत पुस २५ गते उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। लामिछाने काठमाडौँ जिल्ला अदालतबाट माघ २ गते ६० लाख रुपैयाँमा थुनामुक्त भएका थिए। माघ १३ गते धरौटीबापत एक करोड रुपैयाँ लिएर लामिछानेलाई रिहा गरेको थियो। सहकारी ठगी प्रकरणमा लामिछानेबारे पर्सा जिल्लामा भने अनुसन्धान भइरहेको छ।
हाल निलम्बित रहेका लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन्।
संसदीय छानबिन समितिको सिफारिसका आधारमा सभापति लामिछाने कात्तिक २ गते काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए। सोही दिन पोखरा लगिएका उनी ८४ दिन हिरासतमा बसेका थिए।