काठमाडौँ- गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौँ स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन्। शुभकामना सन्देश जारी गर्दै उनले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्प पूरा गर्न सरकार कटिबद्ध रहेको पनि जिकिर गरेका छन्।