वैदेशिक रोजगार व्यवसायी संघमा त्रिपक्षीय प्रतिस्पर्धा, लोकतान्त्रिक समूहमा दुई खेमा

हिमाल प्रेस २१ माघ २०८१ १३:५१
94
SHARES
वैदेशिक रोजगार व्यवसायी संघमा त्रिपक्षीय प्रतिस्पर्धा, लोकतान्त्रिक समूहमा दुई खेमा

काठमाडौँ- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्। संघको निर्वाचनमा मुख्य तीन दल निकट व्यवसायीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा भने दुई खेमा भिन्नाभिन्नै प्यानल बनाएर मैदानमा उत्रने भएको छ। संघको २७ औँ साधारणसभा फागुन २ गते हुँदैछ। नेतृत्वका आकांक्षीहरू मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय हुन थालेका छन्।

कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ। एसोसिएसनले अध्यक्ष पदका लागि संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङलाई उम्मेदवार बनाएको छ। प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र महासचिवमा महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्षका उम्मेदवार गुरुङले जानकारी दिए। सदस्यका लागि पनि छलफल भइरहेको उनले बताए।

गुरुङको उम्मेदवारीलाई लिएर एसोसिएसनभित्र असन्तुष्टि चुलिएपछि असन्तुष्ट समूहले भिन्नै प्यानल मैदानमा उतारेको छ। उनीहरूले कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरेका हुन्। एसाेसिएसनमा अध्यक्ष पदको आकांक्षा राख्नेमा संघका वर्तमान महासचिव मेघनाथ भुर्तेल, खनाल, प्रज्ञान न्यौपाने, चिरञ्जीवी बस्याल, किशोर केसी र सुजितकुमार श्रेष्ठ थिए। अघिल्लो साधारणसभामा विद्रोह गरी उम्मेदवार दिएर एसोसिएसनका अध्यक्ष हराउन सक्रिय गुरुङलाई कांग्रेसले अध्यक्षको उम्मेदवार उठाएपछि एसोसिएसनमा आबद्ध यी  ६ जना व्यवसायी असन्तुष्ट भएका हुन्। उनीहरूलाई मिलाउन गृहमन्त्री रमेश लेखक र महामन्त्री विश्वप्रकाश शर्मा लागेको व्यवसायीले बताएका छन्।

खनालले अघिल्लो साधारणसभामा गुरुङकै कारण एसोसिएसनका उम्मेदवारले हार्नुपरेको बताए। एसोसिएसनका उम्मेदवारका लागि भएको निर्णय तत्काल सच्याउन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएको खनालले बताए। उनले भने, ‘गुरुङभन्दा योग्य र व्यवसायीका हकहितमा काम गर्ने व्यवसायीलाई बाइपास गरेर उम्मेदवार बनाउनु समस्या हो। उनकै कारण गत निर्वाचनमा एसोसिएसनले बढी संख्या भए पनि हार्नुपरेको थियो।’

गुरुङले पार्टीको निर्णयअनुसार एसोसिएसन निर्वाचनमा जानुपर्ने बताए। विगतका गल्तीको समीक्षा गर्दै एक भएर साधारणसभाको तयारीमा लाग्नुपर्ने उनको भनाइ छ। ‘एसोसिएसनभित्रको समस्याले अर्को पार्टी निकट व्यवसायी संघलाई फाइदा पुग्दै आएको छ। यसअघि पनि यही समस्याका कारण एसोसिएसनले हार्नुपरेको थियो। मैले त्यति बेला गल्ती स्वीकारेको थिएँ’, उनले भने।

संघको अध्यक्षमा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका तर्फबाट नरेश गेलाल र महासचिवमा जनक रावल सर्वसम्मत उम्मेदवार घोषणा भएका छन्। गेलाल मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव र रावल मञ्चका वर्तमान अध्यक्ष हुन्।

माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतन्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भन्तनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल घोषणा गरिएको छ। गणतन्त्रिक मञ्चले अन्य केही व्यवसायीसँग सहकार्य गर्न भएका छन्।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन बलियो मानिन्छ। संघमा एसोसिएसनका ३ सय ५० जनाभन्दा बढी सदस्य छन्। एसोसिएसनमा दुई प्यालन बनाएर संघको निर्वाचनमा जाँदा हार व्यहोर्दै आएको छ। गत साधारणसभामा पनि बागी उम्मेदवार गुरुङकै कारण  एसोसिएसनबाट अध्यक्षमा चुनाव लडेका कुमुद खनालले  हार्नुपरेको थियो।

खनालले अघिल्लो संघको निर्वाचनमा १ सय ५७ मत ल्याएका थिए। उनले त्यति बेला ४२ मतले हारेका थिए। एसोसिएसनबाटै विद्रोह गरेर अध्यक्षमा उम्मेदवार दिएका भुवनसिंह गुरुङले १ सय ३१ मत ल्याएका थिए।

एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष भण्डारी १ सय ९९ मत ल्याएर विजयी भएका थिए। अहिले गुरुङलाई कांग्रेसले अध्यक्षको उम्मेदवार बनाएको छ।

प्रकाशित: २१ माघ २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast