यो सरकार मैले अनुसन्धान गर्न खोजेको बिचौलियाले बनाएको हो : प्रचण्ड

हिमाल प्रेस ११ माघ २०८१ १७:०६
12
SHARES
यो सरकार मैले अनुसन्धान गर्न खोजेको बिचौलियाले बनाएको हो : प्रचण्ड माओवादी केन्द्रले तुलसीपुरमा शुक्रबार आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

दाङ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार लोकतन्त्रको भावनाविपरीत अपारदर्शी ढंगले बनेको बताएका छन्। माओवादी केन्द्रले तुलसीपुर नगर कमिटीले तुलसीपुरमा शुक्रबार आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिएँ तिनै बिचौलियाको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो।’ प्रचण्डले ती बिचौलियाको नाम भने खुलाएनन्। साथै ती बिचौलियालाई कुन विषयमा अनुसन्धान गर्न खोजिएको पनि स्पष्ट पारेनन्।

जनताका पक्षमा, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेको आफू नेतृत्वको सरकार ढालेर वर्तमान सरकार बनेको प्रचण्डको दाबी छ। उनले भने, ‘मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कारबाही प्रक्रिया अघि बढाएँ। अनुसन्धान खटिएका अफिसरलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड देखिए पनि कारबाही अगाडि बढाउनू भनेँ। म चुनौतीका साथ भन्न चाहन्छु– अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैँलाई अनुसन्धान गरेर देखाउनू।’

अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ मा जसरी बहुमत दिन अपिल गरे। उनले भने, ‘हामीलाई ६४ मा मत दिएका जनतालाई मेरो अनुरोध छ। आग्रह छ। हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौँ। तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटि ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौंँ।’ त्यो बहुमतले देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने प्रचण्डले बताए।

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताका पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टीप्रति सकारात्मक धारणा बन्दै गएको बताए। सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाटो पुष्टि भएको प्रचण्डको भनाइ छ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारबाट बाहिरिएपछि म जहाँ गएको छु। जनताको अपार माया पाएको छु। म ७० वर्षको भएँ। मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु। जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर विभिन्न पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ’, प्रचण्डले भने।

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको प्रचण्डको दाबी छ। उनले भने, ‘दुई ठुला कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भर्खरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यति नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भीम रावल, विन्दा पाण्डे, उषाकिरणलगायतलाई कारबाहीको डन्डा चलायो। जनताले दुई पार्टीको केन्द्रीय समितिको बैठकलाई तुलना गरेर हेरेका छन्।’

माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्युनिस्टहरुलाई एकताबद्ध गर्दै लैजाने प्रचण्डले बताए।

प्रकाशित: ११ माघ २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast