‘अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो’

हिमाल प्रेस ६ माघ २०८१ २१:०० | Sunday, January 19, 2025
‘अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो’

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन्।

आइतबार क्व्हेलासोथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयको ५० औँ स्वर्णजयन्ती कार्यक्रम उद्घाटन गर्दै उनले विकास र सुशासनको गति बढाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको बताए।

‘मुलुक पञ्चायत, बहुदल, युद्ध हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि काम गर्ने अवस्था पुरानै छ। कानुनको कुरा पनि त्यही हो। यसकारण ऐन, कानुनमा आवश्यक संशोधन गरेर कामको गति बढाउन सरकारले अध्यादेश ल्याएको हो,’ मन्त्री गुरुङले भने।

उनले गणतन्त्रको विकल्पमा समृद्ध गणतन्त्र र लोकतन्त्रको विकल्पमा समृद्ध लोकतन्त्रमात्र हुने भन्दै यस्तो व्यवस्थामा पनि जनताले सहज रूपमा सेवा पाउन नसक्ने अवस्था अन्त्यका लागि अध्यादेश उपयोगी हुने धारणा राखे।

सञ्चारमन्त्री गुरुङले भने, ‘मुलुकमा जनताले अझै पनि सहज रूपमा छिटोछरितो र भनसुनविना सेवा पाउन नसकेको गुनासो सबैले सुनिरहेकै छौँ। अध्यादेश जारी भएसँगै ती समस्या हल गर्न सहज हुने हाम्रो अपेक्षा छ।’

उनले सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र हुनुपर्ने नियम बनाएको बताए। कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने गरेको जनगुनासोपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गुरुङको भनाइ थियो।

प्रकाशित: ६ माघ २०८१ २१:०० | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast