काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भएका चारवटा अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेस भएका चारवटै विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका हुन्।
प्रमाणीकरण भएका विधेयकमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।
उक्त चारवटै विधेयक बिहीबार राष्ट्रियसभाबाट पारित भएका थिए। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती विधेयक अब कानुनका रूपमा कार्यान्वयनको प्रक्रियामा अघि बढ्नेछन्।



