मधेश केन्द्रित दलहरूसँग संवाद गर्न लोसपाले बनायो उच्चस्तरीय समिति

हिमाल प्रेस ६ माघ २०८१ १६:२७
8
SHARES
मधेश केन्द्रित दलहरूसँग संवाद गर्न लोसपाले बनायो उच्चस्तरीय समिति

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सहकार्य र एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति बनाएको छ।

लोसपाले वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सम्मलित दुई सदस्यीय उच्चसतरीय वार्ता समिति बनाएको हो।

यसअघि बनाइएको पाँच सदस्यीय कार्यदल खारेज गरेर दुई सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन भएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन्।

राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आवश्यकता भन्दै लोसपाले पाँच सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्र सदस्य थिए।

जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीले केही दिनअघि कार्यकगत एकता र सहकार्य गर्न मधेश केन्द्रित दलहरूलाई आह्वान गरेका थिए।

त्रिपाठी नेतृत्वको जप्रपाले गठन गरेको वार्ता समितिले मधेश केन्द्रि दलहरूसँग छुट्टाछुट्टै तथा संयुक्त संवाद गरिसकेको छ।

जनता समाजवादी पार्टी (नेपाल) ले कार्यकारणी बैठकबाटै मधेश केन्द्रित दलहरूबीच सहकार्य र एकता गर्न नेता राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो।

त्यस्तै सीके राउतको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि वार्ता समिति बनाएका छन्।

प्रकाशित: ६ माघ २०८१ १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast