रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउला?

हिमाल प्रेस २ माघ २०८१ १६:०० | Wednesday, January 15, 2025
रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउला?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतमा सरकारी वकिलको जवाफी बहस सकिएको छ। न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस भएको हो।

लामिछानेतर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए। अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए।

त्यसपछि सरकारी वकिलले जवाफी बहस गरेका थिए। सरकारी वकिलले जवाफी बहस सकाएपछि अहिले आदेश लेखन कार्य सुरु भएको छ। अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए। सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए।

थुनछेक बहस बाँकी रहेकाले उक्त दिन उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो।

यही पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए।

प्रकाशित: २ माघ २०८१ १६:०० | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast