लेखराजका दुःख : पहिले एमाले छाडेको खबरले सतायो, अहिले गोप्य अभिव्यक्ति नै बाहिरियो

हिमाल प्रेस १ माघ २०८१ ९:५३
900
SHARES
लेखराजका दुःख : पहिले एमाले छाडेको खबरले सतायो, अहिले गोप्य अभिव्यक्ति नै बाहिरियो

काठमाडौँ- लेखराज भट्ट कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निकटस्थ व्यक्ति थिए। प्रचण्डनिकट भएकै कारण उनले पार्टीदेखि सत्तासम्मका कमान्ड गर्न पाए।

सुदूरपश्चिमलाई केन्द्र बनाएर राजनीति गर्ने भट्ट समग्र सुदूरपश्चिमको माओवादीको ‘आधारशिला’ थिए। समय फेरियो र भट्ट बदलिए। भट्टले माओवादी छाडे र एमालेका नेता भए। अहिले उनी एमालेको नेतृत्वतहमै छन्। तर, भट्टको राजनीति पहिले जस्तो चलेको छैन। कहिले के समस्या त कहिले के अभियोगले उनलाई सताएको छ।

केही दिनअघि भट्टले एमाले छाडेको कुरा बाहिरियो। जतिबेला एमालेको केन्द्रीय बैठकमा एमाले अध्यक्षसँग उनी बसेका थिए उता गृहक्षेत्रमा यो विषय एकाएक भाइरल बन्यो। सामाजिक सन्जालमा यसले यस्तो रूप लियो कि भट्टकै सचिवालयले ‘भट्ट एमालेमै छन्’ भन्न पर्‍यो। उनी एमालेको सचिव र सुदूरपश्चिम इञ्चार्ज छन्।

गत पुस २३ गते मंगलबार भट्टले एमाले छाडेको अफवाह फैलिनुअघि उनकै गृहनगर कैलालीको गोदावरी नगरपालिकाको एकै वडाका ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेको विज्ञप्ति नेकपा माओवादी केन्द्रको ह्वाट्सएप ग्रुपमा हालियो।

तर त्यसको एक दिन नबित्दै एमाले छाडेका भनिएकामध्ये २८ जनाले अर्को विज्ञप्ति निकालेर अघिल्लो दिनको विज्ञप्तिलाई अफवाहको संज्ञा दिए। आफूहरू एमाले सचिव लेखराजसँगै रहेको जवाफ उनीहरूले दिएका थिए।

कार्यकर्ताले एमाले छाडेको र नछाडेको चर्चाबीच पुस २३ गते लेखराजकै समाचार आइरहँदा पूर्वमाओवादीहरूले च्यासलमा आफूहरू हेपिएको महसुस भएको बताएका थिए।

पहिलो पटक व्यक्तिगत रुपमा केन्द्रीय कमिटीमा धारणा राख्न पाउँदा पूर्वमाओवादीहरूले सम्मानपूर्ण व्यवहार नभएको, पूर्वमाओवादी भनेर हेपिएकोसहितका गुनासो बैठकमै राखेका थिए। कैलालीको अत्तरियास्थित आफ्नै निवासमा एमालेमा रहेका पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीमा उनले आफ्ना अप्ठेरा सुनाएका हुन् ।

भट्टले कार्यकर्ताहरूसँगको अनौपचारिक संवादका क्रममा एमाले अध्यक्ष ओलीसहितका नेताहरूमा अहंकार रहेको गुनासो पनि गरेका छन्।

लेखराजको उक्त संवादलाई उनको निवासमा पुगेका एकजनाले मोबाइल फोन लुकाएर खिचेपछि सार्वजनिक गरिदिएका हुन्। लेखराज बोलेको अडियोसहितको उक्त भिडियो अहिले फेसबुक म्यासेन्जरमा भाइरल भइरहेको छ।

एमाले बैठक भर्खरै सकिएकाले यो भिडियो ताजा नै रहेको अनुमान गर्न सकिन्छ। एमाले बैठकमा पनि माओवादीबाट आएकाहरूले हेपिएको महसुस गर्नुपरेको गुनासो गरेको सन्दर्भलाई हेर्दा यो भिडियो केही दिनअघिको हुन सक्ने अनुमान गर्न सकिन्छ।

 

प्रकाशित: १ माघ २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast