आज माघे संक्रान्ति, देशभर बिदा

हिमाल प्रेस १ माघ २०८१ ६:२६ | Tuesday, January 14, 2025
आज माघे संक्रान्ति, देशभर बिदा

काठमाडौँ- आज मुलुकभर थारू समुदायसँगै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ। माघे संक्रान्ति पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्छ। यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ। तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ। माघे संक्रान्तिका दिन घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ। तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ। यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको प्राडा भट्टराईले बताए। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

प्रकाशित: १ माघ २०८१ ६:२६ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast