मध्यरातमा डोजर लाएर ढालियो ‘पोखरा गेट’, विकल्पबिनै लडाएकोमा असन्तुष्टि

हिमाल प्रेस २९ पुष २०८१ ११:३३
18
SHARES
मध्यरातमा डोजर लाएर ढालियो ‘पोखरा गेट’, विकल्पबिनै लडाएकोमा असन्तुष्टि डोजरले 'पोखरा गेट' ढाल्दै गर्दाको दृश्य। तस्बिर : विजय नेपाल

पोखरा- पोखराको अमरसिंह चोकस्थित पोखरा गेट आइतबार मध्यरातमा डोजर लगाएर भत्काइएको छ। पोखरा-मुग्लिन सडकखण्ड बिस्तारका क्रममा मापदण्डले छुने भएपछि गेट भत्काइएको भनिएको छ। गेट भत्काएको विषयमा असन्तुष्टि देखिएको छ। राप्रपालगायत स्थानीय युवा क्लबले पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएकोमा असन्तुष्टि पोखेका छन्।

राप्रपा केन्द्रीय सदस्य अरुण गिरी भन्छन्, ‘माओवादी छापामार शैलीमा ऐतिहासिक सम्पदा भत्काइएको छ। यसको हामी घोर विरोध गर्छौ।’ राजमार्ग बिस्तारक्रममा उक्त सम्पदा भत्काउने वा नभत्काउने भन्नेबारे विचार विमर्श हुँदै आएको थियो। गत साता पोखरा महानगरपालिकाको आह्वानमा सर्वपक्षीय बैठक नै बसेको थियो।

बैठकले निष्कर्ष निकाल्न सकेन। राजा वीरेन्द्रको शुभराज्यभिषेक अवसरमा पृथ्वी राजमार्गअन्तर्गत पोखरामा स्वागतार्थ निकै कलात्मक ढंगले पक्की गेट निर्माण गरिएको थियो।

गेटको माथिल्लो भाग सबैभन्दा महत्वपूर्ण थियो। जहाँ बुद्ध र शिवको मूर्तिबीचमा श्रीपेजजडित छ। पोखरा वडा १० का वडासदस्य पूर्णचन्द्र न्यौपानेले गेट भत्काउनै पर्ने बाध्यता भएको सुनाउँछन्। उनी गेट पुरानै शैलीमा पुनर्निर्माणको जिम्मा आफूहरूले विश्वास व्यक्त गर्छन्।

पोखराका मेयर धनराज आचार्यले जिर्ण भएको र जतिबेला पनि दुर्घटना हुन सक्ने भन्दै पोखरा गेट भत्काइएको सुनाउँछन्। ‘हाई–वेको काम सकिएपछि सवारी आवागमनमा असर नपर्ने गरी हामीहरू उपयुक्त ठाउँमा पोखरा प्रवेशद्वार बनाउँछौँ,’ उनले भने, ‘५० वर्षअघि पोखरा त्यहाँसम्म थियो, अमरसिंह चोकमा बन्यो। अहिले पोखरा कोत्रेसम्म फैलिएको छ।’ पोखरा–मुग्लिङअन्तर्गत पश्चिम खण्डका इन्जिनियर सौजन्य नेपालले उक्त सडकखण्डमा ४६ मिटरको सडक बन्ने हुँदा गेट भत्काउनुको विकल्प नभएको जनाए।

प्रकाशित: २९ पुष २०८१ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast