 
                             
                                            रौतहट- लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जंगली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन्। हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन्।
विगत वर्षमा केही दिन आएर बसेर जाने जंगली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन्। हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन्। हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ।
हात्तीको बथानले रौतहटको चन्द्रपुर-३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति गरेको छ। हात्तीले पटक-पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर-३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए। फल्ने बेला भएको करिब सात सय केराको बो नष्ट गरेको उनको गुनासो छ।
यसैगरी चन्द्रपुर-३ गैँडाटारमा पनि हात्तीले केराबारीमा विध्वंस मच्चाएको छ। सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको दुई सय ५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए। उनका अनुसार खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति गरेको छ।
हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका-११ मा चार घर भत्काएको छ। हात्तीले चन्द्रपुर-३ गैँडाटारमा सात र वडा नम्बर २ जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन्। गैँडाटारमा सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर हात्तीले भत्काएको स्थानीय राजु धामीले जानकारी दिए।
यसैगरी कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण गरेको उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति गरेको छ। फतुवा विजयपुर नगरपालिका-११ भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ। स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति गरेको हो।
हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले ‘इनालाइजर’ (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताए। हात्तीले उपद्रो मच्चाउन थालेपछि रोकथामका लागि सो उपकरण प्रयोग गर्नुपर्ने उनले बताए। पर्सा राष्ट्रिय निकुञ्ज अमलेशगञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परार्मश गरेर सो ‘इनालाइजर’ प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए। ‘इनालाइजर’ खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका लागि आफूले पत्राचार गरेको प्रमुख साहले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 