समाजवादी मोर्चा सक्रिय बनाउने तयारी

हिमाल प्रेस २६ पुष २०८१ ७:५९ | Friday, January 10, 2025
समाजवादी मोर्चा सक्रिय बनाउने तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा सक्रिय बनाउने सहमति गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूबीच बिहीबार सिंहदरबारमा भएको बैठकले मोर्चाका गतिविधि बढाउने निर्णय गरेको हो।

माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विस्थापित भएपछि मोर्चाका गतिविधि भएका थिएनन्। ‘अब समाजवादी मोर्चा सक्रिय बनाउने सहमति भयो’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष  डा‍.बेदुराम भुसालले भने,‘मोर्चाका संयोजक नेत्रविक्रम चन्दसँग सल्लाह गरी बैठक बोलाउने कुरा भएको छ।’

उनका अनुसार सरकारबाहिर रहेका दलहरू मोर्चामा रहेकाले सरकारका गलत कामविरुद्ध दबाबमूलक कार्यक्रम बनाउने तयारी छ। समाजवादी विचार भएका अन्य दललाई पनि मोर्चामा समेट्ने तयारी रहेको नेताहरूले जनाएका छन्।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलको केन्द्रीय समिति बैठकले एकताबद्ध भएर एकवर्षे अभियान चलाउने निर्णय गरेको बताएका थिए। उनले समाजवादी क्रान्तिको आधार तयार गर्न बैठक महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका थिए।

बिहीबारको बैठकमा नेताहरूले कांग्रेस-एमाले गठबन्धनको समीक्षा समेत गरेका थिए। बाहिरबाट हेर्दा गठबन्धन सहज देखिए पनि सरकारको कामले गति नलिएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको टिप्पणी थियो।

प्रकाशित: २६ पुष २०८१ ७:५९ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast