सहकारी ठगी प्रकरण : जवाफी बहस सकियो, आदेश आउने सम्भावना

हिमाल प्रेस २५ पुष २०८१ १४:०५
28
SHARES
सहकारी ठगी प्रकरण : जवाफी बहस सकियो, आदेश आउने सम्भावना

पोखरा– पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरुका सम्बन्धमा कास्की जिल्ला अदालतले आजै थुनछेक आदेश दिने सम्भावना छ।

हाल अदालत उपस्थित गराइएका ७ जना प्रतिवादीहरुको सम्बन्धमा गत ८ पुसदेखि सुरु भएको बयान तथा थुनछेक बहस आजदेखि सकिएको हो।

बिहीबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका तर्फबाट सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए।

अब प्रतिवादीहरु पूर्व गृहमन्त्री एवं रास्वपाका निलम्बित सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, गण्डकी प्रदेशका पूर्व सांसद एवं सहकारीका पूर्व उपाध्यक्ष मीना गुरुङसमेतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमै रिहा गर्ने भन्ने एक आदेश हुनेछ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर भएको छ। गत वर्ष १८ असोज, २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा यस वर्ष गत ५ र ७ पुसमा लामिछाने, पूर्व डिआइजी जोशी समेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो।

ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ।

हाल अदालतमा उपस्थित गराइएका प्रतिवादीहरुमा लामिछाने, जोशी, लीला पछाईं, मीना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङ हुन्।

यसैबीच, बहस सकिएसँगै न्यायाधीश नीतिज राईको इजलासले प्रतिवादीलाई बोल्ने मौका पनि दिएको थियो। जसमा प्रतिवादी लामिछानेले आफूलाई तारेखमै रिहा गर्नुपर्ने याचना गरेका थिए। तारेख धाउन आउँदा आफूले सहकारी पीडितको सम्बन्धमा प्रगति विवरण लिएर आउने प्रतिबद्धता समेत गरेका थिए।

आदेश आउने सम्भावना देखिएपछि कास्की जिल्ला अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: २५ पुष २०८१ १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast