विगतझैँ भरिभराउ देखिएन सौराहा, नयाँ वर्षमा पनि रित्तै होटल

हिमाल प्रेस २० पुष २०८१ १०:३१
6
SHARES
विगतझैँ भरिभराउ देखिएन सौराहा, नयाँ वर्षमा पनि रित्तै होटल

चितवन- विगतमा अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे। मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे। साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुर्थ्यो। सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे। यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन।

नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो। १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसाय लागेका क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउँछन्। व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन्।

घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो। काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए। यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए। घिमिरे भन्छन्, ‘सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ।’

केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको संख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उनको भनाइ छ । होटल जंगल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्छन्। कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए। विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ।

सौराहा आउने पर्यटकको मुख्य रोजाइ जंगल सफारी हुने गर्दछ। हात्ती सफारी गराउँदै आएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा नयाँ वर्षमा पनि पर्यटकको संख्यामा कमी आएको बताउँछन्। विगतका वर्षहरूमा एउटा हात्तीले पाँच पटकसम्म पर्यटकलाई जंगल घुमाउने गरेको स्मरण गर्दै उनले यस वर्ष मुस्किलले तीन खेप गरेको बताए।

सौराहामा १६० होटल छन्। ती होटलमा छ हजार पाँच सय पर्यटक अटाउँछन् । असी प्रतिशत हाराहारी मात्रै भरिएको थपलिया बताउँछन्। उनले भने, ‘पहिले पहिले दिउँसै होटल भरिएर सूचना टाग्नुपर्थ्यो, यो वर्ष यस्तो भएन।’ सौराहा आएकामध्ये ८० प्रतिशत नेपाली र बाँकी भारतीय एवं तेस्रो मुलुकका रहेको उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जिप, डुंगा, हात्ती सफारीका लागि पर्यटक आउने गर्दछन्।

प्रकाशित: २० पुष २०८१ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast