लसुन चीनबाट आयात गरी भारत तस्करी!

रमेश भारती १९ पुष २०८१ २१:३८
32
SHARES
लसुन चीनबाट आयात गरी भारत तस्करी!

काठमाडौँ- चालु वर्षको पाँच महिनामा लसुन आयात बढेको छ। यस अवधिमा चीनबाट ४ करोड ६ लाख ४५ हजार ३ सय ७२ हजार किलो लसुन आयात भएको भन्सार विभागको तथ्यांक छ। नेपाली व्यापारीले चिनियाँ बजारबाट पाँच महिनामा ५ अर्ब ३६ करोड ९२ लाखको लसुन भित्र्याएका छन्। विभागका अनुसार गत आर्थिक वर्षमा १७ हजार ४१ टन (दुई अर्ब २२ करोड रुपैयाँ) को लसुन आयात भएको छ।

पाँच महिनामा लसुन नेपालमा धेरै आयात हुने वस्तुको सूचीमा १९ औँ नम्बरमा छ। भन्सार विभागका सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले असोजदेखि लसुनको अस्वाभाविक आयात भइरहेको बताए। यसलाई विभागले शंकास्पद रूपमा लिएको छ।

श्रेष्ठले चीनबाट अत्याधिक लसुन भित्र्याएको विषयमा सूक्ष्म ढंगले अध्ययन भइरहेको बताए। ‘प्रतिकिलो भन्सार महसुल ३४ रुपैयाँका दरले १ अर्ब ३८ करोड ३६ लाख उठेको छ। गत आर्थिक वर्षभरि यसको आधाभन्दा कम मात्र लसुनको भन्सार महसुल उठेको थियो’, उनले भने।

पाँच महिनामै अस्वाभाविक लसुन आयात हुन थालेपछि भारत तस्करी भएको अनुमान छ। गत साता नेपाल हुँदै तस्करी गर्न लागिएको ठूलो परिमाणको चिनियाँ लसुन बिहारको मोतिहारीमा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो। मोतिहारीस्थित सीमा शुल्क आयुक्तालयका अनुसार तस्करी भएको ६ सय ४० टन चिनियाँ लसुन बरामद भएको हो।

चिनियाँ बजारमा लसुन प्रतिकिलो १ सय ६५ रुपैयाँमा पाइन्छ। लसुन व्यवसायीले यही मूल्यमा खरिद गरेर ल्याउने गरेको विभागले जनाएको छ। प्रतिकिलो १५ रुपैयाँ ढुवानी खर्च लागे पनि १ सय ८० रुपैयाँमा लसुन नेपाल भित्रिन्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तरकारी तरकारी बजारमा ३ सय रुपैयाँमा लसुन बिक्री भइरहेको छ।

भारतमा सुकेको लसुनको भन्सार महसुल ३० प्रतिशत लाग्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्रका व्यवसायी पनि चीनबाट आयात भएको ७० प्रतिशत लसुन भारत तस्करी भइरहेको दाबी गर्छन्। चीन आयात भएको लसुनको तस्करी नरोकिए नेपाली बजारमा लसुनको अभाव हुने व्यवसायीको गुनासो छ।

भन्सार विभागका सूचना अधिकारी श्रेष्ठका अनुसार नेपालबाट भारत औपचारिक रुपमा लसुन निर्यात भएको भने देखिँदैन। चीनबाट आयात भएको लसुन नेपाली बजारका लागि मात्र खपत हुँदैन। यसको पछाडि तस्करी नै भइरहेको उनको दाबी छ।

झापाका लसुन व्यापार मन्दिप मियाँले नेपाली व्यवसायीले नेपाल र भारतको भन्सार अन्तरलाई बेलाबखतमा विभिन्न वस्तुमा प्रयोग गर्दै आएको बताए। भारतबाट पछिल्लो समय लसुन र चिया रुसमा निर्यात भइरहेको छ। ‘मैले भारतीय व्यापारी सुनेको भारतले दुईदेखि तीन वर्षका लागि पुग्ने लसुन स्टोर गर्ने लागेको छ रे। अहिले भारतीय व्यापारीले जति पनि लसुन खरिद गर्दै आएका छन्’, उनले भने।

नवभारतटाइम्सका अनुसार गत कात्तिक १ गते भारतीय सीमावर्ती क्षेत्र जोगबनी हाटबाट १४८ किलो चिनियाँ लसुन बरामद गरिएको थियो। सोही बेला विराटनगरमा पनि भारततर्फ लैजान लागिएको ३७५ किलो चिनियाँ लसुन बरामद गरिएको थियो। तस्करहरूले खुला सीमाको फाइदा उठाएर साना भरियामार्फत लसुन भारत पठाइरहेको हुन सक्ने अनुमान भन्सार अधिकारीहरूको छ।

प्रकाशित: १९ पुष २०८१ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast