एक सातामै पुगे सगरमाथा क्षेत्रमा दुई सय बढी पर्यटक

हिमाल प्रेस १९ पुष २०८१ ६:४०
12
SHARES
एक सातामै पुगे सगरमाथा क्षेत्रमा दुई सय बढी पर्यटक

सोलुखुम्बु- पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको संख्या न्यून रहने यस याममा पर्यटक प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ।

कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरुष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन्। पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्यांक छ।

अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताए। चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको संख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन्।

‘अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस-माघमा हामी यत्तिकै बस्नुपर्थ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन्। यसले होटल व्यवसायलाई राम्रो भएको छ’, होटल व्यवसायी जाङ्मु शेर्पाको भनाइ छ।

खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ। हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए। चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उनले बताए।

करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन्। जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौँसहित अन्यत्र गएका छन्। खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ।

प्रकाशित: १९ पुष २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast